Fri. May 17th, 2024

जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन्? नेकपा अनुशासन आयोग

काठमाडौं, २०७७ कात्तिक २४ गते सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवाद सम्वादमार्फत समाधान खोज्‍न  केन्द्रीय अनुशासन आयोगले नेतृत्वलाई आग्रह गरेको छ।

आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह छन्। बैठक बस्‍ने र बोलाउने कुरालाई प्रतिष्ठाको विषय नबनाउन पनि उनले अनुरोध गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले भनेका छन्, ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो । पार्टी एकताको विकल्पै छैन । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ । फुट र विभाजन प्रतिगामी कुरा छन्।’

बोहोराले विगतमा पार्टी विभाजनको दुखद कथा भोगिसकेको उल्लेख गर्दै भनेका छन्, ‘विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं । अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ । त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं ।’

उनले पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गर्नुपर्ने उल्लेख गर्दै धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वलाई आग्रह गरेका छन्।

उनले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि सुझाव दिएका छन्।

आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा मार्क्सवादी परम्परा रहेको उल्लेख गर्दै बोहोरोले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका थुप्रै उदाहरणहरु रहकाले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गरेका छन्।

उनले विधि र पद्धति पार्टी सञ्चालनका प्राण भएको बताउँदै भनेका छन्, ‘विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? बोहराले प्रश्‍न गरेका छन्, ‘जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरु किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं ?

उनको भनाइ छ, ‘हामीले यो कुरा बुझ्नुपर्छ, माक्र्सवादीहरु हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन् । भित्र एउटा कुरा र बाहिर अर्को कुरा गर्दैनन् । जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन् । पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन् । एउटा कम्युनिष्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो । तर व्यवहारमा हाम्रो पार्टी यी कामहरुमा किन पछि परेको छ । सबैको मनमा प्रश्न उठिरहेको छ ।’ अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments