Fri. May 17th, 2024

अमेरिकी राष्ट्रपति चुनाव : मतगणना जारी, जोर्जियामा ट्रम्पलाई बाइडेनले उछिने

काठमाडौं, २०७७ कात्तिक २१ गते शुक्रबार

अमेरिकी राष्ट्रपति निर्वाचन भएको तीन दिन बित्दा पनि नतिजा कसको पक्षमा जान्छ भन्ने अझै स्पष्ट भएको छैन । अहिलेसम्मको मतपरिणाम हेर्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितनजिक पुगे पनि विभिन्न राज्यमा मतगणना जारी भएकाले ढुक्क हुने अवस्था भने छैन ।

परम्परागत रुपमा रिपब्लिकन पार्टीको पकड क्षेत्र मानिएको जोर्जियामा बाइडेनले झिनो अन्तरले ट्रम्पलाई उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार जोर्जियामा बाइडेनले करिब एक हजार मतले अग्रता बनाएका छन् । १६ इलेक्टोरल भोट रहेको जोर्जियामा करिब ९९ प्रतिशत मतगणना भइसकेको बताइएको छ । जोर्जियामा बाइडेनले जिते ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने सम्भावना निकै कठिन हुनेछ ।

जोर्जियामा जित हात पारे बाइडेनको २६९ मत हुन्छ । त्यस्तो अवस्थामा बाँकी सबै राज्य जित्दा पनि ट्रम्पको पनि २६९ मत नै हुनेछ । तर एरिजोना र नेभादामा पनि बाइडेनले अग्रता बनाएकाले त्यस्तो सम्भावना भने कम रहेको बताइएको छ ।

यदि एरिजोना बाइडेनले जितेमा उनलाई नेभादा मात्रै जिते पनि पुग्छ । एपी र फक्स न्युजले एरिजोनामा बाइडेनले जित्ने बताइसकेका छन् । एपीका अनुसार बाइडेन २६४ इलेक्टोरल भोटसहित जितको नजिक पुगेका छन् । ट्रम्प भने २१४ भोट र केही राज्यमा अग्रता बनाउँदै बाइडेनलाई टक्कर दिएका छन् ।

सीएनएनलगायत केही सञ्चारमाध्यमले भने एरिजोनामा मतगणना जारी रहेकाले एरिजोनालाई जोडेका छैनन् । एरिजोनामा ११ इलेक्टोरल भोट रहेको छ । पछिल्लो मतपरिणाम अनुसार एरिजोनामा बाइडेनले करिब ४७ हजार मतले अग्रता कायम राखेका छन् । एरिजोनाको मेरिकोपा, पिमालगायतका काउन्टीमा मतगणना जारी रहेको छ ।

त्यस्तै ६ इलेक्टोरल भोट रहेको नेभादामा बाइडेन करिब ११ हजार मतले अगाडि रहेका छन् । नेभादामा करिब ८९ प्रतिशत मत गनिएको छ ।

मतगणना जारी रहेका राज्यमध्ये नर्थ क्यारोलाइना र अलास्कामा राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रता रहेको छ । पेन्सिलभेनियामा ट्रम्पलाई पछाडि पार्दै भर्खरै बाइडेनले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार बाइडेन ट्रम्पभन्दा करिब ५ हजार ६ सउ मतले अगाडि छन् । २० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा करिब ९८ प्रतिशत मत गनिएको बताइएको छ । पेन्सिलभेनियामा मात्रै जित हात पारे पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् । पेन्सिल्भेनिया जिते बाइडेनको २७३ मत पुग्नेछ ।

१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइनामा भने राष्ट्रपति ट्रम्प सुरक्षित देखिन्छन् । ९५ प्रतिशत मत गनिसकेको अवस्थामा ट्रम्प १.४ प्वाइन्ट अर्थात करिब ७६ हजार मतले बाइडेनभन्दा अगाडि छन् । त्यस्तै ३ इलेक्टोरल भोट रहेको अलास्कामा पनि ट्रम्प झन्डै ५४ हजार मतले अगाडि रहेका छन् ।

मतगणना भइरहँदा पेन्सिलभेनियाका विभिन्न स्थानमा ट्रम्प र बाइडेन पक्षधरद्वारा प्रदर्शन भइरहेको छ । बाइडेन पक्षधरले प्रत्येक भोट गन्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् भने ट्रम्प पक्षधरले चुनावमा धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेका छन् ।

ट्रम्पको चुनावी अभियानले नेभाडाको क्लार्क काउन्टीमा हुलाकमार्फत आएको मतपत्रमा धाँधली भएको भन्दै मुद्दा दर्ता गरेको छ । ट्रम्प पक्षले केही ठाउँमा पुन: मतगणना गर्न माग गरेकाले अमेरिकी राष्ट्रपति चुनावको अन्तिम नतिजाका लागि केही दिन अझ कुर्नुपर्ने भए पनि केही घण्टामा कसले जित्छ भन्ने स्पष्ट बाटो भने देखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कान्तिपुर अनलाईनबाट

Facebook Comments