Thu. May 2nd, 2024

राष्ट्रपति भण्डारीद्वारा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान

काठमाडौं, २०७७ कात्तिक २० गते बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उहाँलाई उक्त दर्जा प्रदान गरिएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद-पत्र पनि प्रदान गरिएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु सरिक हुनुहुन्थ्यो ।

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुनुहुन्छ । उहाँलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति श्री रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।

सो समारोह पश्चात् जनरल नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

Facebook Comments