Sat. Jul 27th, 2024

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा, यस्तो छ तीन दिने नेपाल बसाईको तालिका

तस्विर गोरखापत्र अनलाईन

काठमाडौं, २०७७ कात्तिक १९ गते बुधबार

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार अपरान्ह नेपाल आइपुगेका छन्। श्रीमती बिना र अन्य दुई जना अधिकारीका साथ इन्डियन एयर फोर्सको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएका नरवणे अहिले सोल्टी होटलमा छन्।

नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि ग्रहण गर्ने कार्यक्रम छ। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध प्रधानसेनापति उपाधि ग्रहण गर्ने गर्छन्। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार बुधबार नवरणेको कुनै औपचारिक कार्यक्रम छैन। तर स्रोतका अनुसार उनले पशुपतिनाथ दर्शन गर्न सक्ने कार्यक्रम छ। पौडेल भने हाल पशुपतिनाथ मन्दिर बन्द रहेकाले उक्त कार्यक्रम निश्चित भइनसकेको बताउँछन्।

नेपाली सेनाका अनुसार नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्ने छन्। त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनको भेटघाट हुने छ। बिहीबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्ध प्रधानसेनापतीको उपाधि ग्रहण गर्नेछन्।

शुक्रबार स्वदेश फर्कनुअघि बिहान उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। नरवणेले आफ्नो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरेका छन्।

भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदानप्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ ।

Facebook Comments