Fri. May 3rd, 2024

गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि भारतद्वारा एक अर्ब अनुदान

काठमाडौं, २०७७ कात्तिक १८ गते मंगलबार

भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । गोरखापत्र अनलाईनका अनुसार नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ । आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको दूतावासले जनाएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट प्राप्त निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड-१९ महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको उहाँको उपसचिव रमेश अर्यालले जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद समेत दिनुभयो । भेटमा कोभिड-१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउनु हुँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

Facebook Comments