Tue. May 21st, 2024

नेकपाका दुई अध्यक्षबीच पार्टीको आन्तरिक विषयमा छलफल

काठमाडौं, २०७७ कात्तिक १५ गते शनिबार

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो  करिब दुई घण्टा लामो छलफलले दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनका विषयमा केन्द्रित भएर छलफल भएको बताइएकाे छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिउँसो सवा १ बजे बालुवाटार पुग्नुभएको थियो । पौने तीन बजे बैठक सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीच कात्तिक ३ गते यता बैठक र संवाद भएको थिएन । लामो समयपछि बसेको दुई अध्यक्षबीचको बैठकमा भएको छलफल बारे विस्तृत जानकारी गराइएको छैन । लामो समयसम्म अध्यक्षबीचको संवाद हुन नसकेपछि सञ्चार माध्यममा अनेक टिप्पणी भइरहेका थिए ।  दुई अध्यक्षबीच टेलिफोन संवाद भने जारी थियो ।

अध्यक्षबीचको संवाद तथा बैठकका लागि पार्टीका नेताहरु निरन्तर आग्रह गर्दैआउनुभएको थियो । अध्यक्ष प्रचण्ड कन्ट्राक्ट ट्रेसिङमा बस्नुभएपछि दुई अध्यक्षबीचको बैठक बस्न नसकेको अध्यक्षका सचिवालयले बताउँदैआएको थियो । पछिल्लो तीन दिनयता अध्यक्ष प्रचण्डसँग महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेलले छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

लामो समयपछि आज बसेको बैठकमा पार्टीको आन्तरिक विषय र सरकारले गर्ने काम र निर्णयबारेमा दुई अध्यक्षबीच छलफल भएको हुनसक्ने प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो । पछिल्लो समय कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव काण्ड र मन्त्रिपरिषद विस्तारमा अध्यक्ष प्रचण्ड असन्तुष्ट रहनुभएको नेताहरुले बताउँदै आउनुभएको थियो ।

अध्यक्ष प्रचण्ड बालुवाटार जानुअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो । पार्टीको सांगठनिक एकता प्रक्रिया टुङ्गो लगाउने गृहकार्यमा रहनुभएका दुई अध्यक्षबीचको बैठक सघन हुन नसक्दा त्यो काम पनि बाँकी रहेको नेताहरुले बताउनुभएको छ । असोज मसान्तभित्र सांगठनिक एकताको काम सम्पन्न गर्ने प्रतिवद्धता अध्यक्षद्वयको थियो ।

केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्मका लागि पूर्व निर्धारित रहेपनि अध्यक्षहरुबीचको गृहकार्य सम्पन्न नभएपछि एक महिना पछाडि मंसिर १५ देखि १७ सम्म बैठक बस्ने तय गरिएको छ । नेकपाले आगामी चैतमा पार्टीको एकता महाधिवेशन गर्ने बताएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments