“कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल”
टोकियो, २०८२ जेठ १३ गते मंगलबार । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ खर्ब ५० अर्ब डलर भन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।
अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।
सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण सर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।
मन्त्रिपरिषद्का मुख्यसचिव योशिमासा हायाशीले भन्नुभयो,“अमेरिकी करबाट प्रभावित साना तथा मध्यम व्यवसायहरूलाई पूर्ण समर्थन दिइनेछ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालु वर्षको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गर्नुभएका थिए, तर त्यो निर्णय जुलाईको सुरुसम्मका लागि रोकिएको छ ।
जापानले ती करहरू पूर्णरूपमा हटाउन आग्रह गरिरहेको छ । त्यसका लागि सरकारी प्रतिनिधि चाँडै चौथो चरणको वार्ताका लागि अमेरिका जाँदै छन् ।
प्रधानमन्त्री शिगेरु इशिबाले आगामी महिना क्यानडामा हुने सात राष्ट्रको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेर सहमति जुटाउने सङ्केत दिनुभयो ।
अर्कोतर्फ, सरकारले बढ्दो बिजुली तथा ग्यासको मूल्यका कारण जनतामा परेको असर कम गर्न आगामी तीन महिनाका लागि दुई खर्ब ८८ अर्ब बराबरको सहयोग प्रदान गर्ने जनाएको छ ।
यसले प्रत्येक परिवारको मासिक उपभोग खर्चमा तीन हजार डलरको राहत दिने बताइएको छ । साथै, सरकारले अस्पताल, विद्यालय तथा साना उद्योगहरूलाई थप विशेष सहायता प्रदान गर्ने योजना पनि अघि सारेको छ । एएफपी

