Sat. May 9th, 2026

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने   

नेका संसदीय दलको बैठक काठमाडौँ, २० वैशाखः सङ्घीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागीहरु । तस्बिरः गोपाल दाहाल÷रासस

       

काठमाण्डू, २०८२ वैशाख २० गते शनिबार । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्नेगरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढङ्गले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

यस्तै, नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । बैठकले भारतको उडिसास्थित केआइआइटीमा अध्ययनरत नेपाली छात्राको निधन र जम्मुकस्मिरस्थित पलहगाममा भएको घटनाको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेको छ ।

यस्तै, संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो । बैठकमा २० भन्दा बढी सांसदहरूले नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा धारणा राख्नुभएको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार