वीर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित कैदीको घटना के हो ?
काठमाडौं, २०७७ असोज ६ गते मंगलबार
सोही भिडियो लाइभमा रामकी छोरीले उनीहरुलाई मृतकको शव हेर्न नदिएपछि जबरजस्ती झ्यालबाट घोचो छिराएर शव ढाकिएको कपडा हटाएर भिडियो खिचेको र उक्त भिडियोमा प्रष्टसँग बाबुको हत्या गरिएको प्रमाणहरु देखिएको दाबी गरिरहेकी थिइन् । छोरीसँगै देखिएका एक वयस्क व्यक्तिले मृतकको दुवै आँखा निकालिएको, घाँटी र हातमा पोलेको दाग देखिएकाले हत्याको घटना लुकाउन अस्पताल र जेल प्रशासनले कोरोनाको बहाना बनाएको बताइरहेका देखिन्छन् ।
यो समाचार तयार पर्दासम्म बब्लुको यो फेसबुक लाइभ ७ घन्टामै ४ हजार ७ सय पटक सेयर भएको देखिन्छ भने त्यसमा १ हजार ३ सयले कमेन्ट गरेको देखिन्छ । बब्लुले गरेको लाइभलाई अन्य कैयौं फेसबुक पेजले पनि सेयर गरेका छन् । लाइभ भिडियोको फुटेज काटेर दर्जनौंले टिकटकमा हालेका छन् । जसमध्ये मंगलबार साँझसम्म यो घटनाबारे विक्रम श्रेष्ठको टिकटक अकाउन्टबाट तीन फरक फरक भिडियो पोस्ट भएको देखिन्छ । जसमध्ये पहिलो भिडियो ८८ हजार २ जनाले हेरेका छन् भने त्यसमा ७ हजार २ सय ८४ ले लभ रियाक्ट, ८ सय ६९ ले शेयर र २ सय ६९ वटा कमेन्टहरु आएका छन् ।
रामलखन जैसवालको मृत्यु षड्यन्त्रपुर्वक भएको, परिवारलाई गुमराहमा राख्न खोजिएको र हत्यापछि भएको मृत्यु लुकाउन कोरोना भनिएको भन्ने खालका अन्य दर्जनौं भिडियो सामाग्रीहरु पनि युट्युबमा देखिन्छ । यही घटनाबारे ओटीभी नामक नामक युट्युब च्यानलले ‘ओ माई गड’ भन्दै ‘कोरोना अस्पतालमा जिउँदै मान्छे मारेर आँखा चोरी ! सडकमै छोरी र श्रीमतीको रुवाबासी, तोडफोड’ शीर्षकमा भिडियो सार्वजनिक गरेको छ ।
जसलाई अपलोड गरिएको ५ घण्टामा १६ हजार ७ सयले हेरेका छन् । त्यस्तै अनलाइन हरपल नामक युट्युब च्यानलले यही घटनाको भिडियो ‘वीर हस्पिटलमा घट्यो यस्तो काण्ड, चले रुवाबासी, कोरोनाको नाममा आँखा र किडनीको व्यापार ?’ शीर्षकमा भिडियो पोस्ट गरेको छ । जसलाई अपलोड गरिएको ६ घन्टामा २८ हजारले हेरेका छन् । यही विषयमा योहो टिभी युट्युबले पोष्ट गरेको भिडियो ३ घण्टामा ३० हजारले हेरेका छन् । यो युट्युबले ‘मृतकको आँखा गायब’ भन्ने शीर्षकलाई थम्बनेल बनाएको छ । मंगलबार साँझसम्म यो घटनाबारे दर्जनौं युट्युब च्यानलले सनसनीपूर्ण थम्बनेलसहितको भिडियो बनाएका छन् । जसको लाखौं भ्युअर्स देखिन्छन् ।
लेखक तथा समिक्षक राम लोहनीले पनि मंगलबार दिउँसो फेसबुकमा यो घटनाबारे स्टाटस पोस्ट गरे । उनले परिवारका सदस्यले युट्युबहरुमा लगाएको जस्तै आरोपहरुलाई टिपेर लेखेका छन्, ‘यस्तो गम्भीर घटनामा वीर अस्पतालको संग्लनता भर्त्सनायोग्य छ । आँखा लगायतका भित्री अंगहरुको बेचबिखन पनि हुनसक्ने आशंका गरिएको छ ।’
गिनेचुनेका समिक्षक लोहनीले स्टाटसको अन्तमा स्पष्टीकरण भन्दै घटनासँग सम्बन्धित भिडियोहरु कमेन्टमा रहेको र पत्याउने/नपत्याउने आफैं निर्णय गर्न सकिन्छ भन्दै लेखेका छन्, ‘मेरो पोस्ट पनि त्यही भिडियोमा आधारित हो ।’ लोहनीको यो स्टाटस पोस्ट भएको चार घन्टामै २ सय २२ जनाले सेयर गरेका छन् ।
यो घटनाबारे पहिलो भिडियो लाइभ गरेका बब्लुले आफूहरुले खुलामञ्चमा खाना बाढ्ने बेलामा केही मान्छेले फोन गरेर बोलाएपछि आफू त्यहाँ पुगेको र घटनाबारे प्रहरीलाई खबर गरी लाइभ गरिदिएको बताए । परिवारका मान्छेले रामलखनलाई कुनै पनि रोग नलागेको दाबी गरेको र मृतकलाई कोरोना नै लागेको भएका जेलभीत्रका अरु कैदीलाई किन कोरोना नलागेको भनेर प्रश्न गरेको सुनाए । बब्लुले दिएको मृतकको परिवारका सदस्यको फोनमा बारम्बार प्रयास गर्दा पनि सर्म्पक हुन सकेन ।
केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले कर्तव्य ज्यानको मुद्दामा थुनामा रहेका जैसवाल साढे आठ वर्षयता कारगारमा रहेको बताए । उनले जैसवालको साढे ११ वर्ष कैद भुक्तान बँकी रहेको समयमा शनिबार राति ९ बजेर ४५ मिनेटमा श्वासप्रश्वासमा गाह्रो भएपछि कारागारभित्रैको अस्पतालमा लगिएको बताए । जेलर बाँस्कोटाका अनुसार अस्पतालले थप उपचारका निम्ति सिफारिस गरिएपछि राति नै वीर अस्पताल पुर्याएको तर, अस्पतालले राति १० बजेर ५५ मिनेटमा बिरामीको मृत्यु भएको सूचना दिएको जानकारी दिए । उनले मृतक जैसवाल दीर्घरोगी हुनुका साथै पार्किन्सन्सका बिरामी रहेको दाबी गरे । उनका अनुसार जैसवालको मृत्युपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार राति आएको र त्यसमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवलबाट काठमाडौं आएका परिवारले मृतकको शव देखेपछि त्यसबारे प्रश्न गर्न बिहान आफू कहाँ आएको पनि जेलर बाँस्कोटाले बताए । उनले भने, ‘परिवारका मान्छेले मृत्युबारे शंका गरेपछि मैले जेल भित्रको र अस्पताल लैजाँदाको सबै सीसीटिभी फुटेज झिकाएर हेरें । तर, त्यसमा परिवारका सदस्यले भनेजस्तो केही देखिएन ।’ मृतकका परिवारले शवमा निलडाम देखिएको, आँखा झिकिएको र घाँटीमा दाग भएकाले हत्या भएको शंका आफूसँग व्यक्त गरेको जेलर बाँस्कोटाले बताए ।
उनले आफूले सीसीटिभी फुटेज जुम गरेर हेर्दा पनि अस्पताल लैजाने बेलामा परिवारका सदस्यले भनेजस्तो केही नदेखिएको बताए । उनले परिवारका सदस्यले चाहेको खण्डमा आफूले फुटेज देखाइदिने बताए । जेलर बाँस्कोटाले परिवारका सदस्यको कुरा सुनेपछि आफूले एक प्रहरी पठाएर शव हेर्न लगाएको तर बाहिर भनिएजस्तो घाँटीमा दाग र आँखा निकालिएको अवस्था नरहेको दाबी गरे ।
वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले भने शनिबार राति ल्याउँदा नै बिरामीको मृत्यु भइसकेको र कोरोना परिक्षणको रिपोर्ट नआउन्जेलका लागि शवलाई अस्पतालको शवघरमा राखिएको बताए । वीर अस्पतालको शव घरमा फ्रिज नभएकाले अस्पतालले बन्द कोठामा शवलाई खुला नै राखेको थियो । कोरोना संक्रमण सुरु हुनुअघिसम्म वीरले मृतकको शव राख्नै पर्ने भए टिचिङ अस्पतालको शव घरको फ्रिजमा राख्न पठाउँथ्यो ।
निर्देशक सेन्चुरीले फ्रिजमा नराखिएका कारण गर्मीले शव केही बिग्रिएको र शव धेरै दिन बाहिर राख्दा आँखा लगायतका भागबाट रगतजस्तो तरल पर्दाथ आउनु असामान्य नभएको जानकारी दिए । ‘मृतकका परिवारको गुनासो आएपछि मैले कर्मचारीलाई शव ओल्टाई पल्टाई गरेर हेर्न पनि पठाए । तर त्यस्तो शंकास्पद केही भेटिएन,’ उनले भने ।
शव पोष्टमार्टमका लागि मंगलबार साँझ टिचिङ अस्पताल लगिएको मृतक रामलखनका भतिजा शिवजैसवालले जानकारी दिएका छन् । कान्तिपुर अनलाईनबाट