Wed. May 1st, 2024

कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, २०७७ असोज ५ गते सोमबार

 विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हो ।

सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’ आङरिताले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको थियो ।

सन् १९४८ मा जन्मनुभएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलोपटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।

दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमाले बताउनुभयो ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङ्रिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ । आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । उहाँको सात वर्षअघि पत्नीको निधन भएको थियो । शेर्पा त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु लगायतका मानपदवी तथा पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

गोरखापत्र अनलाईनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

“विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेख्नुभएको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

Facebook Comments