Sat. Jan 11th, 2025

१५ औं चितवन महोत्सव सुरु, ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा

काठमाण्डू, २०८१ पुस २६ गते शुक्रबार । १५ औं चितवन महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हिजो (बिहीबार) देखि सुरु भएको सो महोत्सवको एक समारोहका बिच डिजिटल प्रविधि मार्फत उद्घाटन भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

१५ दिनसम्म चल्ने सो महोत्सव उद्धघाटन समारोहमा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी र विदेशी लगानी बढाउन सरकारले धेरै कानून परिवर्तन गर्ने तयारी गरेको बताउनुभयो । हालका ऐन कानून नियन्त्रित र निषेध गर्ने चरित्रका भएका कारणले लगानी र उत्पादनलाई नै निषेध गरेको जानकारी दिनुहुँदै मन्त्री भण्डारीले एउटा सरलीकृत कानून बनाएर प्रक्रियागत जटिलता हटाउने आश्वासन पनि दिनुभयो । विराटनगर जुट मिल, गोरखकाली टायर उद्योग, हेटौँडा सिमेन्ट कारखाना, बुटवल धागोलगायतका उद्योगलाई सञ्चालन गर्ने विषयमा पनि सरकारले प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Damodar-Bhandari-1736504833.jpg                                    दामोदर भण्डारी, मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

राससका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले समग्र चितवनको आर्थिक विकासमा महोत्सव सार्थक भएको बताउनुभयो ।

Renu-Dahal-1736505061.jpg                                      रेनू दाहाल, प्रमुख, भरतपुुर महानगरपालिका 

महोत्सवमा चीन, बंगलादेश र पाकिस्तानबाट पनि प्रदर्शक आएका छन् । महोत्सवअन्तर्गत नै नारायणगढ क्याम्पाचौरमा पुस २९ गतेदेखि माघ ४ सम्म परम्परागत खानाको प्रवद्र्धनका लागि फुड फेस्टिभलसमेत हुनेछ ।
पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव उद्घाटन गर्नुभन्दा अघि विभिन्न जातजाति र समुदायको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निस्केको थियो ।

Facebook Comments