Sun. Jan 5th, 2025

नेपाल-चीन सम्बन्धदिनानुदिन प्रगाढ बन्दै गएको विज्ञहरुको भनाई

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस १५ गते सोमबार । नेपाल र चीनबीचको सम्बन्ध दिनानु दिन प्रगाढ बन्दै गएको विज्ञहरुले बताएका छन् । आज काठमाण्डूमा “एड्भान्सिङ नेपाल-चाईना कोओपरेशन आफ्टर दी प्राइम मिनिस्टर भिजिट टु चाईना”विषयक अन्तरक्रियामा बोल्दै सहभागीहरुले सो विचार व्यक्त गरेका हुन् ।

सो अन्तरक्रियमा भागलिनु हुँदै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुजाता कोइरालाले नेपाल र चीनबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभएर जनता जनताबीचमा पनि प्रगाढ हुँदै गएको बताउनु भयो । प्रधानमन्त्री ओलीको भख्खरै सम्पन्न चीन भ्रमणको चर्चा गर्नुहुँदै नेता कोइरालाले चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता भएको हुनाले दुवै देशको जीतहुने ढंगबाट परियोजना अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


नेपालस्थित चिनियाँ राजदूतावासका डिसीएम वाङ सिनले चीन र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको जानकारी दिनुहुँदै यत्तिलामो अवधिमा दुइ देशबीच विवाद रहित सहकार्य र आदान प्रदान हुनु सामान्य विषय नभएको बताउनुभयो ।

चीनको फुतान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीन र नेपालबीच ऐतिहासिक कालदेखि प्रगाढ सम्बन्ध रहँदै आएको बताउनुहुँदै चीनले सँधै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताउनुभयो ।

चीनको सछुवान विश्वविद्यालयका सहायक डिन ह्वाङ युनसोङले चीन-नेपाल सम्बन्ध, नेपालको भूराजनीतिमाथि बढ्दै गएको चुनौती, भारत-अमेरिका सहकार्य, चीन-भारत सम्बन्ध लगायतका विभिन्न विषयहरुमा बोल्नुहुँदै नेपालसँगको सम्बन्धलाई चीनले महत्वकासाथ हेरेको जानकारी दिनुभयो । साथै उहाँले चीन र भारत जस्ता विशाल देशहरुका विचमा नेपालले भोग्दै आएका समस्याहरुबारे चीन राम्रोसँग जानकार रहेको र नेपाललाई जस्तो सुकै सहयोग गर्न पनि चीन तयार रहेको बताउनुभयो ।

अन्तरक्रियामा बोल्नुहुँदै नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री केपीशर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण महत्वपूर्ण भएको भन्दै सो भ्रमणमा चीनसँगभएका सहमती र सम्झौताहरुको कार्यान्वय समयमै हुने विश्वास व्यक्त गर्नुभयो ।

मदन भण्डारी फाउण्डेसन, जिपी कोइराला फाउण्डेशन र नेपाल-चीन मैत्री मञ्चको संयुक्त आयोजनामा सम्पन्न सो अन्तरक्रियामा मञ्का अध्यक्ष डा. कल्याणराज शर्मा र जिपी कोइराला फाउण्डेशनका बागमती प्रदेश संयोजक डा. सीता घिमिरेले नेपाल र चीनबीचका बहुआयामिक पक्षहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

Facebook Comments