Thu. Jan 2nd, 2025

तमु ल्होछार देशैभर भव्य रुपमा मनाईयो

तमु ल्होछारका अवसरमा काठमाण्डूमा गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिले आज आयोजना गरेको कार्यक्रमस्थलतर्फ परम्परागत जातीय पोसाकमा सजिएर जाँदै युवतीहरु । तस्बिरः हरिराम भेटुवाल/रासस

भिओके समाचार/काठमाण्डू, २०८१ पुस १५ गते सोमबार । गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होछार आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशैभर भव्य रुपमा मानाईएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने यस पर्वमा सहभागी हुन बिहानैदेखि सो समुदायका मानिसहरु विभिन्न चौक, गल्लि र सडकहरुमा परम्परागत पोशाकमा सजिएका देखिएका थिए ।

सङ्खुवासभाकाे खाँदबारी नगरपालिका-३ स्थित चिसापानी गुम्बामा साेमबार आयाेजित तमु ल्होछारकाे अवसरमा जातीय वेशभूषामा गुरूङ समुदायका युवती । तस्बिर : भविन कार्की / रासस

धार्मिक तथा सांस्कृतिक कथन अनुसार ‘ल्हो’को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो । तमु ल्होछार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउने गर्दछन् । ‘तमु ल्होछार’ पर्वको अवसरमा काठमाण्डूको टुँडिखेलमा समेत भव्य समारोहको आयोजना गरिएको थियो । सो समारोहमा गुरुङ समुदायका विभिन्न सांस्कृतिक पहिरन सहित संस्कृति दर्शाइएको थियो ।

तमु ल्होछार: जातीय वेशभूषामा नृत्य गर्दै गुरुङ समुदाय/तमु ल्होछारको अवसरमा काठमाण्डूमा सोमबार गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको पदयात्रा र्‍याली वेशभूषामा नृत्य देखाउँदै गुरुङ समुदाय । तमु ल्होछार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः हरिराम भेटुवाल/रासस

तमु ल्होछार सूर्यको किरणसँग सम्बन्धित पर्व हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा साेमबार आयोजित ६७औँ वार्षिकोत्सव कार्यक्रममा कौडा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : कुलदीप न्यौपाने /रासस

तमु ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होछार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

तमु ल्होछारको अवसरमा आज काठमाण्डूमा निकालिएको र्‍यालीमा सांस्कृतिक पहिचान झल्कने जातीय वेशभूषा, रैथाने बाजालगायतका सामग्रीसहित सहभागी हुँदै गुरूङ समुदाय । तमु ल्होछार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

तमु ल्होछारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका नेताले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिनुभएको छ ।

तमु ल्होछारको अवसरमा आज काठमाण्डूमा आयोजित र्‍यालीमा सांस्कृतिक पहिचानसहितको जातीय वेशभूषामा सहभागी हुँदै गुरूङ समुदाय । तमु ल्होछार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ/रासस
Facebook Comments