Fri. Dec 27th, 2024

माओ चतोङको १३२ औं जन्म दिवस आज : विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईँदै

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस ११ गते बिहीबार । माओ चतोङ एकजना महान चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुनुहुन्थ्यो जसको कुशल नेतृत्वमा सन् १९४९ अक्टोबर १ का दिन चीनमा जनवादी क्रान्ति सफल भइ गणतन्त्र चीनको स्थानमा जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो ।

चिनियाँ जनताले अध्यक्ष माओ भनि उच्च सम्मान गर्ने माओले सन् १९४९ देखि उहाँको निधन भएको मिति सन् १९७६ सेप्टेम्वर ९ सम्म चीनको नेतृत्व सम्हाल्नु भएको थियो । यद्यपी उहाँले कहिल्यै पनि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री जस्ता पदहरु लिनुभएन । उहाँ जहिले पनि चिनियाँ जनताका प्रिय नेता र अध्यक्ष माओको नामले चिनिनुभयो । मार्क्सवादी र लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उहाँको सिद्धान्तलाई माओवादको नामले विश्वभरी चिनिन्छ।

माओको जन्म आजकै दिन अर्थात सन् १९९३ डिसेम्वर २६ मा चीनको हुनान प्रान्तको शाओशान गाउँमा मध्यम वर्गीय परिवारमा भएको थियो । माओले जीवनका अधिकांश समय चिनियाँ जनताको मुक्ति, चीनको स्वाधिनता र चिनियाँ जनताको आत्मसम्मानका खर्चिनु भएको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा आजको नवउदीयमान चीन माओकै देन हो भन्दा फरक पर्दैन ।

चीनमा मात्र नभएर विश्वका श्रमिक, मजदूर र किसानहरुले पनि माओलाई उच्च सम्मान गर्दछन् । माओको नाममा विश्वभरी हजारौं संस्थाहरुको स्थापना गरिएको छ भने सैंयौं राजनीतिक दलहरु क्रियाशिल छन् । विक्रम सम्वत २०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादीले माओकै अनुशसरण गर्दै जनयुद्धको उद्धघोष गरेको थियो । जुन जनयुद्धलाई जनताको अपार शुभेच्छा र समर्थन थियो । कालान्तरमा माओवादी नेतृत्व स्वार्थ र शक्तिको चंकुलमा फसेपछि नेकपा माओवादी केन्द्र र सो पार्टीको नेतृत्वपङतीलाई हेर्ने जनताको दृष्टिकोण फरक भैसकेको विज्ञहरु बताउँछन् । माओवादी नेतृत्वले माओको नाममा सुरु गरेको ऐतिहासिक जनयुद्ध जनताको अपन्त्वसँग जोडिएको भए पनि माओवादको अनुशसरण नगरिएको भन्दै पार्टी भित्रकै नेताहरुले विद्रोह गरेपछि नेकपा माओवादी केन्द्र विभिन्न दलहरुमा विभाजित भएको छ । जसले जनताको मुक्ति र विकासको सपनालाई अधुरै छाडेर पदलोलुपतामा लागेको जनगुनासो छ ।

यसैबीच माओ दिवसका अवसरमा आज सार्बजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले काठमाण्डू कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा दिउसो १:३० बजे माओ दिवस र वर्तमान नेपाली राजनीति विषयमा सम्वाद गर्ने भएको छ । सो सम्वादमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर लगायतका नेतहरुको सहभागिता रहने कार्यक्रम रहेको छ । सो अवसरमा जनयुद्धका डायरी समालोचना पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रगतिशिल लेखक मनॠषि धितालले जानकारी दिनुभयो ।

माओवादी धारमा आएको दरारपछि एउटै मञ्चमा नदेखिएका दुइजना नेता नेत्र विक्रम चन्द विप्लव र जनार्दन शर्मा प्रभाकर एउटै मंचमा उभिएर माओवादी र समाजवादी आन्दोलनलाइ मजबुद बनाउदै माओका शिक्षालाइ नयाँ उचाईमा पुर्याउने कार्यक्रम रहेको हुनाले पनि आजको समारोहलाई महत्वका साथ हेरिएको छ ।

जनयुद्ध, जनआन्दोलन र अन्य विभिन्न जागरणबाट पैदा भएको चेतना र परिवर्तनलाई पछाडी पार्ने, प्रतिवन्धित गर्ने र फेरी पुराना सामन्तवादका कुडाकर्कत बोक्ने प्रतिक्रियावादी चिन्तन र योजना विरुद्ध दुइजना युवा नेताको माओ दिवसको संदेश नेपालका क्रान्तिकारीहरुकालागि उत्प्रेरणाको माध्यम बन्ने अपेक्षासमेत गरिएको छ ।

Facebook Comments