२०८३ भाद्र ७, आइतवार

“हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म” विषयक विशेष छलफल सम्पन्न

       

भिओके समाचारर/काठमाण्डू । नेपाल समाज मिडिया प्रा.लि.ले काठमाण्डूमा “हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म”का विषयमा विशेष छलफलको आयोजना गरेको छ । काठमाण्डूमा आज आयोजना भएको सो छलफलमा बौद्ध धर्मका लामा गुरुहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा गहन र तार्किक बहस गर्नुभएको थियो । छलफलमा नेपाल र भुटानका बौद्ध धर्मका विद्वानहरुका साथै बौद्ध धर्मका जानकार र शोधकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त छलफलमा बौद्ध धर्मका विद्वान र गुरुहरुले “हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म”का विविध पक्षका विषयमा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो । उपस्थित बौद्ध विद्वान र जानकारहरुले कार्यपत्रको प्रस्तुतीपछि प्रश्नोतर र टिप्पणी पनि गर्नुभएको थियो ।

समारोहमा विशेष अतिथि टुल्कु लोसाङ नाम्ग्याल रिन्पाेछेले मानिसले अहिले बाँचिरहेको जीवनलाई हेरेर मात्र काम गरेमा धर्म नहुने बताउनुभयो । आफूले पछिको जीवनलाई हेरेर काम गर्नुपर्ने जनाउँदै यो नै धर्म भएको भगवान बुद्धले बताउनुभएको जानकारी दिनुभयो ।

बौद्ध धर्मका विद्वान पुण्य प्रसाद पराजुलीले छलफलबारे प्रकाश पार्नुहुँदै बौद्ध विश्व विद्यालयहरुमा पुनरजन्म जस्ता गहन विषयमा अध्यापन गराउनुको सट्टा सामान्य विषयबस्तु मात्र समेटिएको बताउनुभयो ।

छलफलमा नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिम्पाले ‘चेतना, मृत्यु र पुनर्जन्मसम्बन्धी बौद्ध अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा उहाँले चेतनाको उत्पत्तिका लागि आलम्बनप्रत्यय, अधिपतिप्रत्यय र अनन्तरप्रत्यय लगायतका विषयको महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।

छलफलमा नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष आचार्य नुर्बु शेर्पाले ‘मनको प्रकृति र पुनर्जन्मसम्बन्धी बौद्ध दृष्टिकोण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै त्यसमा पुनर्जन्म र कर्मफलका विषयमा बौद्ध, वैदिक तथा भौतिकवादी धाराबीच रहेको भिन्नताबारे जानकारी दिनुभएको थियो ।

खेन्पो जामयाङ लोड्रोले ‘मन, कर्म र पुनर्जन्म’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले मन, कर्म र पुनर्जन्मबीचको सम्बन्ध तथा बौद्ध दर्शनमा यसको महत्वबारे कार्यपत्रमार्फत धारणा प्रस्तुत गर्नुभयो। आचार्य छोपाल ग्याछोले भार्दोको अवधारणालाई जीवन, मृत्यु र पुनर्जन्मको प्रक्रियासँग जोडेर व्याख्या गर्दै  ‘भार्दो र चेतनाको निरन्तरता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भुटानका बौद्ध धर्मका विद्वान डाक्टर कर्मा फुन्छोक भर्चुअल माध्यमबाट जोडिनुभएको थियो । उहाँले ‘मन, कर्म र पुनर्जन्मसम्बन्धी हाम्रा धारणाको पुनःमुल्याङ्कनः २१ औं शताब्दीमा बौद्ध चिन्तन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा प्रस्तुत भएका कार्यपत्रमाथि निकै गहन र तार्किक टिप्पणी गरिएको थियो । नेपाल बौद्ध महासंघका प्रमुख कार्यकारी अधिकृत आचार्य सार्की शेर्पाले कार्यपत्रहरुमा सटिक टिप्पणी गर्नुभएको थियो ।

छलफलमा प्रस्तुत भएका कार्यपत्र र विषयहरु गहिरो र जानकारीमुलक रहेको सहभागीहरुको प्रतिक्रिया थियो । छलफलमा उठेका धेरै विषयहरु समाजवाद, भौतिकवाद, मार्क्सवाद जस्ता वाद र विचारसँग मिल्दाजुल्दा भएको तर्कहरु पनि उठेका थिए । कार्यक्रम आयोजक संस्था नेपाल समाज मिडिया प्रा.लि. का अध्यक्ष ध्रुव पौडेलले समाजवाद र बौद्ध विचारका विषयमा भविष्यमा कार्यक्रम आयोजना गरिने जानकारी समेत दिनुभएको छ ।

Facebook Comments