Thu. Dec 26th, 2024

संविधान संशोधन कार्यदल चाँडै बनाउँछौँ : गृहमन्त्री लेखक   

काठमाण्डू, २०८१ पुस ९ गते मंगलबार । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताउनुभएको छ । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताउनुभयो । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

“पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।”

समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उहाँको भनाइ थियो ।

Facebook Comments