सिरियाली नयाँ नेतृत्वलाई भेट्न अमेरिकी कूटनीतिज्ञ दमास्कसमा
दमास्कस, २०८१ पुस ५ गते शुक्रबार । सिरियाका नयाँ इस्लामवादी नेतृत्वको शासकलाई भेट्न अमेरिकी कूटनीतिज्ञहरू सिरियामा पुगेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुव्र्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।
बिहीबार दमास्कसमा सयौँले लोकतन्त्र र महिला अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए ।
एएफपीका अनुसार उत्तरपूर्वी सिरियाको कामिश्लीमा टर्की र उसका सहयोगी विद्रोही लडाकुको दबाबमा रहेको अमेरिकी समर्थित कुर्द नेतृत्वको सेनाको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन् ।
अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम (एचटीएस) ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो।
एचटीएसको राजधानीमा अचानक आगमनले विदेशी सरकारहरू सिरियासँगको नयाँ नीतिबारे अलमलमा परेका छन् । केही देशहरूमा एचटीएसलाई आतङ्कवादी समूह घोषित गरिएको छ ।
सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमा कडाइ गरेपछि सुरु भएको गृहयुद्धको सुरुवाती दिनदेखि नै अमेरिकी कूटनीतिज्ञहरू औपचारिक अभियानसहित दमास्कस गएका छैनन् ।
उनीहरूले वासिङ्टनले आतङ्कवादी समूह घोषणा गरेको एचटीएसका प्रतिनिधिका साथै अधिकारकर्मी, अल्पसङ्ख्यक समूह र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सिरियाली नागरिकसँग आफ्नो देशको भविष्यका लागि उनीहरूको दृष्टिकोण र अमेरिकाले उनीहरूलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा कुराकानी गर्ने बताएका छन् ।
उक्त प्रतिनिधिमण्डलमा सन् २०१२ को अगष्टमा सिरियामा अपहरणमा परेका पत्रकार अस्टिन टाइसलगायत हराएका अमेरिकी नागरिकबारे सुराकी खोजिरहेका अमेरिकी नागरिक पनि रहेका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाका छिमेकीको भ्रमणका क्रममा अमेरिका एचटीएससँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएको एक सातापछि यो भ्रमण हुन लागेको हो ।