सी जिनपिङद्वारा मकाउको ‘स्वस्थ’ जुवा उद्योगको प्रशंसा
मकाउ, २०८१ पुस ५ गते शुक्रबार । चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको बताउनुभएको छ ।
पूर्व पोर्चुगाली उपनिवेश मकाउले ‘एक देश, दुई प्रणाली’ को ढाँचाअन्तर्गत चीनलाई हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सव मनाउनु एक दिनअघि उहाँको यो टिप्पणी आएको हो ।
चिनियाँ शासनको २५ वर्षमा मकाउले लास भेगासलाई उछिन्दै जुवा राजस्वको हिसाबले विश्वको क्यासिनो राजधानी बनेको छ । यसको जनसङ्ख्या चिनियाँ पर्यटक खर्चले धनी बनाएको छ ।
तर पैचिङले वर्षौँदेखि मकाउको अर्थतन्त्रलाई विविधीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ ।
एक भव्य भोजमा बोल्दै सीले होको प्रशासनले ‘व्यावहारिकतासँग चुनौतीहरूको सामना गर्न मकाउका विभिन्न क्षेत्रहरूलाई एकजुट र नेतृत्व गरेको’ बताउनुभयो ।
एएफपीका अनुसार उहाँले सहरले ‘उपयुक्त आर्थिक विविधीकरणमा नयाँ उपलब्धिहरू हासिल गरेको’ र ‘जुवा उद्योग कानूनअनुसार स्वस्थ र व्यवस्थित रूपमा विकास भएको’ बताउनुभयो ।
होले सन् २०१९ मा कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यकालको धेरैजसो समय कोरोना भाइरस महामारीप्रति मकाउको प्रतिक्रियाद्वारा परिभाषित गरिएको थियो । यसले पर्यटक–निर्भर सहरलाई ठूलो झट्का दिएको थियो ।
नेतृत्वका लागि एकमात्र उम्मेद्वार र चार सय सदस्यीय समितिले छनोट गरेका पूर्व शीर्ष न्यायाधीश साम हौ–फाईले शुक्रबार शहर नेताको रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।
तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएका राष्ट्रपति सीले मकाउको भविष्यका लागि ‘तीनवटा अपेक्षा’ पनि उल्लेख गर्नुभयो ।
“मकाउले सही रूपमा आफ्नै स्थिति पत्ता लगाउनुपर्छ र वैज्ञानिक तरिकामा यसको भविष्यको विकासको योजना बनाउनुपर्छ तथा ग्रेटर बे एरिया जस्ता राष्ट्रिय विकास रणनीतिहरूसँग थप सक्रिय रूपमा जोड्नुपर्छ”, उहाँले भन्नुभयो ।
ग्रेटर बे एरिया सिलिकन भ्यालीलाई उछिन्ने लक्ष्यका साथ हङकङ, मकाउ र चीनको दक्षिणी तटका नौ सहरलाई एकीकृत गर्ने महत्त्वाकांक्षी आर्थिक खाका हो ।
सीले मकाउ प्रतिभा आकर्षित गर्न र ‘सुधार र नवप्रवर्तन गर्ने साहस’ गर्न ‘खुला र समावेशी’ हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले बिहीबार मकाउ विज्ञान र प्रविधि विश्वविद्यालयका साथै हेङ्किन टापुको भ्रमण गर्नुभयो । यो टापु बेइजिङले मकाउलाई आफ्नो गैर–खेल विकासका लागि जग्गा आपूर्ति बढाउन आंशिक रूपमा भाडामा दिएको थियो ।
मकाउ वरपर सुरक्षा बढाइएको छ र बिहीबार सीको भाषणको स्थल मकाउ पूर्वी एसियाली खेलकुद गुम्बज बाहिर सडक अवरोध गरिएको छ ।
छिमेकी हङकङको विपरीत मकाउमा चिनियाँ शासनमा फर्किएपछि ठूलो मात्रामा राजनीतिक अशान्ति देखिएको छैन ।