Sun. Dec 22nd, 2024

जनकपुरलाई एक सय २४ रनको लक्ष्य   

काठमाण्डू, २०८१ मंसिर २६ गते बुधबार । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको हो ।

राससका अनुसार  सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Facebook Comments