Mon. Jun 15th, 2026

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम   

       

काठमाण्डू, २०८१ मंसिर १५ गते शनिबार । ओमानस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार दूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।

त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले सामाजिक सुरक्षा कोष, श्रमिकको सुरक्षाका निम्ति नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै आतिथेय मुलुकको कानुनको पूर्ण परिपालना गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभयो ।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।

राससका अनुसार  कार्यक्रममा श्रम तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रमबाट दुई सय १५ जना सेवाग्राही लाभान्वित भएका राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाली राजदूतावास मस्कटबाट विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक बिदाकै दिनमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि विदेशमा भने सामाजिक सुरक्षासम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार