Thu. Nov 21st, 2024

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो   

काठमाण्डू, २०८१ कात्तिक २८ गते बुधबार । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अङ्कले ओरालो लागेर चार सय ८३ दशमलव ६९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर रु सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैङ्क र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स नौ दशमलव ९९, समृद्धि फाइनान्स नौ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त चार दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स चार दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेको छ ।

Facebook Comments