Sat. Nov 23rd, 2024

टोखा नगरपालिका र नाक्छु शहरबीच बैठक सम्पन्न

रमेश हतुवाली/काठमाण्डू, २०८१ कात्तिक २७ गते मंगलबार । काठमाण्डूस्थित टोखा नगरपालिका र चीनको तिब्बत स्वायत्त प्रदेशको नाक्छु नगरपालिकाका प्रतिनिधिहरुबीच आज द्वीपक्षिय बैठक सम्पन्न भएको छ ।

काठमाण्डूमा भएको सो बैठकमा टोखा नगरपालिका मेयर प्रकाश अधिकारी नेतृत्वको प्रतिनिधी मण्डल र चीनको तिब्बत स्वायत्त प्रदेशको नाक्छु नगरपालिकाका प्रमुख तासी दोर्जी नेतृत्वको प्रतिनिधी मण्डलबीच बैठक सम्पन्न भएको हो ।

बैठकमा बोल्नुहुँदै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिका र नाक्छु नगरपालिकाबीच प्रगाढ सम्बन्ध रहँदै आएको बताउनु भयो । दुवै नगरपालिकाले आपसी हितका विविध विषयमा विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिनुहुँदै मेयर अधिकारीले नेपाल र चीन सरकारबीच सम्पन्न विभिन्न सन्धि र सम्झौताहरुको कार्यान्वयनका लागि दुवै नगरले मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकमा चीनको तिब्बत स्वायत्त प्रदेशको नाक्छु नगरपालिकाका प्रमुख तासी दोर्जीले नाक्छु  शहरको प्रतिनिधिमण्डललाई नेपालको सुन्दर शहर टोखामा नेतृत्व गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनु भयो ।

चीन र नेपाल घनिष्ठ र मित्रवत् छिमेकी मात्र नभएर महत्वपूर्ण सहयोगी साझेदार भएको बताउनुहुँदै उहाँले दुई देशबीच राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्य क्षेत्रमा घनिष्ठ सम्बन्ध रहेको जानकारी दिनुभयो । यस भ्रमणबाट कृषि तथा पशुपन्छीजन्य उत्पादन, सांस्कृतिक पर्यटनको र बिकाश बिस्तारमा  सहयोगको अभिबृद्दी हुने प्रमुख दोर्जीले विश्वास व्यक्त गर्नुभयो । दुवै शहरबीचकोे सम्बन्धलाई  एक नयाँ स्तरमा पुर्याउन, मित्रतालाई अझ प्रगाढ बनाउन र आपसी विश्वास अभिवृद्धि गर्न, दुई सहरको साझा समृद्धि र विकासको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्न बैठकले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख दोर्जीको भनाइ छ ।

चीन अध्ययन केन्द्रका सचिव तथा भ्रमण टोलिका सहजकर्ता प्रकाश बाबु पौडेलले टोखा नगरपालिका र तिब्बतको नाक्छु नगरबीच सन् २०२२ मा औपचारिक रुपमा भागिनी सम्बन्ध स्थापित भई दुवै नगरबीच सहकार्य हुँदै आएको रे टेलिभिजनलाई जानकारी दिनुभयो । आज सम्पन्न बैठकमा दुवै पक्षले आपसी हितलाई अझ प्रगाढ बनाउने, आपसी सहयोग र सहकार्यलाई अझ व्यापक बनाउने सहमती भएको बतानुभयो ।

Facebook Comments