Mon. Dec 23rd, 2024

उपनिर्वाचन : ग्रामथानमा मंसिर १६ गते थारु, विश्वास र माझी भिड्ने

महेश भट्टराई/झोराहाट, (विराटनगर) २०८१ कात्तिक २७ गते मंगलबार । आगामी मंसिर १६ गते आइतबार हुने उप – निर्वाचनकाे लागि ग्रामथान गाउँपालिकाका प्रमुख तीन राजनीतिक दलहरू नेपाली काङ्ग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुटाछुटै उम्मेदवारहरू मैदानमा उतारेका छन् ।

सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार घाेषणा गरेको थियो । माओवादी केन्द्रले नमाेनारायण माझीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गरि नेपाली काङ्ग्रेसले बलराम सरदार थारूलाई उम्मेदवार बनाएको छ । आज झाेराहाटकाे गाेपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्रमा बसेकाे नेकपा एमालेकाे बैठकले आफ्नो उम्मेदवारमा एमालेका गाउँपालिका उपाध्यक्ष तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।

प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै यस पालिकामा प्रमुख रूपमा प्रतिस्पर्धा हुने देखिन्छ ।  काङ्ग्रेसबाट विजय भएका जयप्रकाश गच्छदार थारूकाे असारमा निधन भएपछि यसपालिकामा उपनिर्वाचन हुन लागेको हाे ।

ग्रामथानमा विगतको परिणाम

मंसिर १६ गतेका लागि प्रदेश तथा पालिकाहरुमा रिक्त रहेको जनप्रतिनिधिहरुको पदहरुमा पदपूर्ति गर्न मिति तोकिएको छ । सोही मितिमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मंसिर २ गते उम्मेदवारको मनोनयन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या २७ हजार ४३९ जना रहेको छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत मात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत रहेको छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेशी जनअधिकार फोरम, नेपाल ९लोकतान्त्रिक०का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसको कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।

कोशी प्रदेशमा  कहाँ-कहाँ हुँदै छ उपचुनाव  ?

कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । सो पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो । गच्छदार नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा विजयी भएका थिए । यसैगरी झापाको कन्काई नगरपालिका–६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । सो वडामा एमालेबाट दीर्घबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका-८ वडामा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट तेजमान लिम्बू अध्यक्ष निर्वाचित भएका थिए । सुनसरीको गढी गाउँपालिका-६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराउ झाँगरको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो ।

यस्तै ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ वडामा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट वडाध्यक्षमा गोपीकृष्ण कार्की निर्वाचित भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन हुँदै छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको निधन भएपछि उपनिर्वाचन हुँदै छ । उदयपुरकै बेलका नगरपालिका-९ मा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट निर्वाचित अध्यक्ष पदमबहादुर खड्काको निधन भएको थियो ।

कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले रिक्त भएका पदमा उपनिर्वाचनको तयारी भइरहेको जनाएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिम हङकङ गएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदै छ । एक वर्षअघि हङकङ गएका बोखिमले उतैबाट राजीनामा पठाएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी जिल्ला समन्वय समिति ओखलढुङ्गाको रिक्त रहेको प्रमुखका लागि समेत मङ्सिर १६ मै निर्वाचन हुँदै छ । नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो ।

रिक्त रहेका पदमा हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगको तालिका रहेको छ ।

 

 

 

 

 

 

Facebook Comments