Mon. Oct 21st, 2024

रूसी राष्ट्रपति पुटिन र सर्बियाका राष्ट्रपति बुसिकबीच साढे दुई वर्षपछि फोनवार्ता   

बेलग्रेड, २०८१ कात्तिक ४ गते आइतबार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर वुसिकबीच साढे दुई वर्षमा पहिलो पटक आइतबार फोनमावार्ता भएको छ ।

अर्को हप्ता हुने ब्रिक्स शिखर सम्मेलनमा वुसिकको सहभागिता सुनिश्चित गर्न दुई नेताबीच फोनवार्ता भएको हो ।

युरोपेली युनियनको उम्मेदवार सर्बियाले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घनको निन्दा गरेको भएपनि युक्रेन आक्रमणलाई लिएर रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ । यो सर्वियाको रूससँग निकट र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने रणनीति हो ।

आइतबार टेलिफोनमार्फत् भएको वुसिक र पुटिनबीचको वार्ता संक्षिप्त थियो ।

“रुसले यो जाडोमा सर्बियाका लागि पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउने सुनिश्चित गरेकोमा मैले राष्ट्रपति पुटिनलाई विशेष धन्यवाद दिएँ,” वुसिकले सामाजिक सञ्जालमार्फत् सार्वजनिक भिडियो सन्देशमा भन्नुभएको छ ।

सन् २०२२ को मे पछि पुटिनसँगको पहिलो प्रत्यक्ष वार्तामा वुसिकले युक्रेन द्वन्द्वका कारण रूसमाथि प्रतिबन्ध नलगाउने आफ्नो अडान सर्बियाले नबदल्ने बताउनुभएको थियो ।

“सर्बियाले रूसी महासङ्घमाथि प्रतिबन्ध लगाउने छैन। यो परिवर्तन हुनेछैन,” वुसिकले भन्नुभयो ।

अक्टोबर २२ देखि २४ सम्म कजानमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिनले वुसिकलाई सेप्टेम्बरमा दिएको निमन्त्रणाको आधिकारिक प्रतिक्रियाको पर्खाइमा रहेका बेला सर्वियाले रूससँग यो वार्ता गरेको हो ।

“यदि मैले म कजान जाँदैछु भने, यसले सर्बियाको युरोपेली मार्गको अन्त्यको सङ्केत गर्नेछ। यदि मैले अरु केही भनेँ भने उनीहरूले मैले रुसीहरूलाई धोका दिएको दाबी गर्नेछन्,” वुसिकले यसै साताको सुरुमा भन्नुभएको थियो ।

Facebook Comments