Mon. Oct 21st, 2024

अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने   

वासिङ्टन, अमेरिका, २०८१ कात्तिक ४ गते आइतबार । अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत गोप्य योजना चुहावटबारे अनुसन्धान गरिरहेको परिस्थितिसँग परिचित तीन जना व्यक्तिबाट प्राप्त जानकारी अनुसार सिएनएनले जनाएको छ।

यी स्रोतहरू मध्ये एकले उक्त दस्तावेजको प्रामाणिकतालाई पुष्टि गरेको छ । एक अमेरिकी अधिकारीले उक्त गोप्य सुचना चुहावटलाई गम्भिर चिन्ताको विषयको रुपमा वर्णन गर्नुभएको अमेरिकी समाचार माध्यमले जनाएको छ ।

टेलिग्राममा “मिडल इस्ट स्पेक्टेटर“ नामक खाताद्वारा पोस्ट गरिसकेपछि अक्टोबर १५ र १६ का कागजातहरू शुक्रबार अनलाइन प्रसारित हुन थाले। अत्यन्तै गोप्य रूपमा चिह्नित उक्त कागजात केवल अमेरिका र यसको “फाइभ आइज“ साझेदारः अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्यका लागि लक्षित थिए ।

यी कागजातले इरानविरुद्ध सैन्य आक्रमणका लागि इजरायलको स्पष्ट तयारीको रूपरेखा प्रस्तुत गर्दछ । ’नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स’ विभागबाट प्राप्त एउटा दस्तावेजले यी तयारीको एक हिस्साको रूपमा इजरायलले हतियारबारे विवरण दिएको छ । राष्ट्रिय सुरक्षा विभाग (एनएसए) लाई श्रेय दिइएको अर्को दस्तावेजले आक्रमणको तयारीमा रहेको इजरायली वायु सेनाको अभ्यासलाई समावेश गरेको छ ।

एक अमेरिकी अधिकारीले पेन्टागनको संवेदनशील सामग्रीमा कसलाई पहुँच थियो भन्ने पहिचानमा अनुसन्धान केन्द्रित रहेको सङ्केत गर्नुभयो । यस्तो चुहावटले स्वचालित रूपमा एफबिआई, पेन्टागन र अमेरिकी गुप्तचर विभागद्वारा संयुक्त अनुसन्धानलाई प्रेरित गर्दछ । एफबिआईले यस अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरेको सिएनएनले जनाएको छ ।

त्यसैगरी एउटा दस्तावेजले इजरायलले कहिल्यै सार्वजनिक रूपमा पुष्टि नगरेको आणविक हतियारहरूको अस्तित्वबारे वर्णन गरेको छ । तर, उक्त दस्तावेजमा अमेरिकाले इजरायलले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै प्रमाण नदेखेको उल्लेख गरेको छ ।

कागजातहरू कसरी बाहिरियो , तिनीहरू ह्याक गरिएको थियो वा जानाजानी सार्वजनिक गरिएको थियो भन्ने स्पष्ट छैन । अगस्टमा अमेरिकी गुप्तचर विभागहरूले इरानले डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित कागजातहरू ह्याक गरेको रिपोर्ट गरेसँगै अमेरिकाले इरानी साइबर अभियानहरूबारे उच्च सतर्कतामा अपनाएको सिएनएनले जनाएको छ।

Facebook Comments