Sun. Oct 6th, 2024

लेबनानबाट २१५ जना चिनियाँ नागरिकको उद्धार

काठमाण्डू, २०८१ असोज १९ गते शनिबार । इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।

यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको पकड रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको बताएको थियो ।

इजरायलले हालै लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेको छ । यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेयता दैनिकजसो भिडन्त हुनेगरेको छ।

रूस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका विभिन्न देशले पनि लेबनानबाट आफ्ना नागरिकलाई हटाउने अभियान सुरु गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ ।”

“लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको छ र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

Facebook Comments