आलेख-बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
कमलामाई (सिन्धुली), २०८१ असोज १९ गते शनिबार । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पा¥यो ।
बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । पहिरोले बुढेसकालको साहारा लुट्यो । घर माथिबाट झरेको पहिरोले घर थिच्यो । घरले विनय कोइरालालाई किच्यो ।
बचाऊ ! बचाऊ ! भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ । हाँसिरहने छोरो आँखा अगाडि छाँया बनेर नाचिरहन्छ । छाँयामा छोरोलाई छुन खोज्दा पाउँदैनन् । झर्छन् आँशु, भक्कानो फुट्छ । यो कथामात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको । यतिबेला यो परिवार शोकमा डुबेका छ । “माथ्लो घरले लगाएको पर्खाल खसेर मेरो घर डल्यो, घरले थिचेर छोरोको ज्यान गयो”, आमा बिन्दाले भक्कानिँदै दुःखेसो गर्नुभयो, “हामीले तत्काल निकाल्न सकेनौँ । प्रहरीले २४ घण्टापछि निकाल्दा शरीर गन्हाउन थालिसकेको थियो ।”
बिन्दा र बोधकुमारका दुई छोरा थिए । जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो । ज्वालादेवी सेकेन्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन् । दुवैको काँधमा १० वर्षे विजयको पढाई र कपाल सेतै फूलेकी आमाको पालनपोषणको जिम्मेवारी छ ।
साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो । बाढीले सबै धानबाली सखाप बनाएको छ । गाईसहित गोठमा भएका पशुबस्तु पुरिए । दुई आनामा ढुङ्गामाटोले बनाएको घरगोठसहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ । यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको ।
“एउटा छोरो दैवले लगे पनि चार जना बाँचेका छौँ । खान त बनिबुतो गरेर खाउँला । बस्ने बासको व्यवस्था गरिदिएहुन्थ्यो”, बोधकुमारले भन्नुभयो । बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन् ।
यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका–९ भिमानका ४६ वर्षीय कृष्णबहादुर बोगटी, सुनकोसी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइराला र सुनकोसी–२ गोख्रेनीका ४५ वर्षीय गणेश गुर्मछाने छन् ।
सिन्धुलीमा भौतिक क्षतिको अवस्था भयानक छ । सुनकोसी–१ नेपालथोक, दुम्जामा भुपाल घिसिङले दुई वर्षअघि नमुना पेट्रोलपम्पको अवधारणमा रु २० करोड लगानी गरेर सञ्चालनमा ल्याउनुभएको नमोबुद्ध आयलस्टोर बाढीले बगायो । पाँच रोपनीमा पेट्रोल व्यवसाय सुरु गरेको एक दशक बिते पनि लगानी थप गरेर नमुना बनाएको दुई वर्ष बितेको थियो ।
“जापानमा १२ वर्ष बगाएको पसिनाको पौरख शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले बालुवामा मिलाइदियो । नगद पैसा पनि निकाल्न पाइन् । अघिल्लो दिनमात्रै तेल लोड गरेको थिए । त्यो तेलको तीन वटा टयाङ्की, चार वटा मेसिनसहित आयलस्टोर, अफिस कोठा, शौचालय, क्याफे केही बाँकी राखेन, सबै बगायो”, व्यवसायी घिसिङले भक्कानिँदै पीडा सुनाउनुभयो ।
सुनकोसी गाउँपालिका–२ रम्तेल टोलीकी सीता सार्कीको यतिबेला रुबाबासी छ । वडा सदस्यसमेत रहेकी सीताको टोल नै पहिरोको जोखिममा छ । घर माथि र आँगन तलबाट पहिरो खसिरहेको छ । केही घरमा क्षति भइसकेको छ । “यो विपद्को बेलामा म एक्लै छु । दुई छोराबुहारी काठमाडौँ छन् । बिहे गरेर दिएका छोरी आफ्नै घर छन् । आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ । सुनकोसी नदीतिरको बस्ती बाढीले डुबाएको छ । अब म सुरक्षितसँग बस्न कहाँ जानु ?”, पहिरो प्रभावित सीता सार्कीले दुःखेसो गर्नुभयो ।
ठाउँठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुङ्गे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानी गरेको छ । बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचल्लित भएका छन् ।
फिक्कल गाउँपालिकामा मात्रै तीन सय छ घरपरिवार बाढी, पहिरोका कारण प्रभावित छन् । उपाध्यक्ष राजु बरालका अनुसार पहिरोका कारण वडा नं. ३ पोखरीमा ६० घर, वडा नं. २ खोलागाउँमा २९ घर, वडा नं. ४ खाङ्साङमा ६२ घर, वडा नं. ५ सोल्पाठानामा ७५ घर, वडा नं. ६ रत्नावतीमा ७९ र वडा नं १ महादेवडाँडामा एक घरपरिवार पहिरोबाट प्रभावित छन् ।
छ सय ४६ रोपनीमा किसानले लगाएको धानबालीमा क्षति छ । एक सय २० रोपनी खेतीयोग्य जमिन कटान भएको छ । पाँच सय २६ रोपनी जमिन पुरिएको छ । बाढीले कृषि तथा पशुपक्षीका पाँच वटा फर्म, सात वटा फलफूल बगैँचा बगाएको छ । बाढी, पहिरोले ५० वटा विद्युत्का खम्बामा क्षति गरेपछि असोज ११ गतेदेखि विद्युत् अवरुद्ध छ । विद्युत् अवरुद्ध हुँदा फिक्कल गाउँपालिकामा आठ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य छन् ।
सुनकोसी नदीमा आएको बाढीले फिक्कलका पाँच वटा झोलुङ्गे पुलमा क्षति गर्दा ओखलढुङ्गासँगको सीधा सम्पर्क टुटेको छ । सुनकोसी नदीबाट लिफ्टिङ गरी खानेपानी तान्ने १५ वटा मोटर बगाउँदा पिउने पानीको समस्या भएको छ ।
सुनकोसी र गोलञ्जोरमा बाढी, पहिरोले गरेको क्षति विवरण सङ्कलन भइरहेको छ । सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाका अनुसार पालिका र प्रहरीले क्षति विवरण सङ्कलन गरिरहेका छन् । हालसम्म सुनकोसी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय छ घरपरिवार बाढी, पहिरोका कारण विस्तापित भएको विवरण सङ्कलन भएको छ । घर पूर्ण रुपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन् । यहाँ पनि खानेपानीको चरम समस्या छ ।
सुनकोसी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्रका मात्रै चार वटा रिसोर्ट, ३५ वटा होटललगायत विद्यालयको भवन र घरको पहिलो तल्ला बाढीको बालुवा माटोले पुरिएको स्थानीय व्यवसायी पुर्छमान श्रेष्ठले बताउनुभयो । उहाँका अुसार नदी किनारका अधिकांश संरचनाहरु बाढीले कटान गरेर बगाएको छ ।
यता, गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार क्षेत्रको अवस्था पनि उस्तै छ । गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) का अनुसार यहाँ मात्रै ३५ घरका ६० परिवार विस्थापित भएका छन् । बाढीले विस्थापित भएका परिवार बजार क्षेत्रमा व्यापार, व्यवसाय गरेर बसेका थिए ।
सुनकोसी नदीमा आएको बाढीले गोलञ्जोर–६ मा ११ वटा घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको दुई वटा भवन, विद्यालयको भवन, ¥याफ्टिङसहित सरकारी भवन १४ वटा, तीन वटा मन्दिर र दुई वटा पार्टीमा क्षति भएको छ । हैवारदेखि बलेनीसम्मको लिफ्टिङ खानेपानीको नौ वटा इनार बगाउँदा तीन सय घरधुरीलाई खानेपानीको समस्या भएको छ ।
राससका अनुसार विपद्को यो दुःख घडीमा नागरिकको प्रतिरक्षा गर्न स्थानीय तहको स्रोतसाधनले मात्रै नभ्याउने गोलञ्जोर गाउँपालिका उपाध्यक्ष न्यौपानेले बताउनुभयो । बाढी, पहिरो प्रभावितको जीवनस्तरलाई पुरानै लयमा फर्काउन प्रदेश र सङ्घीय सरकारको भूमिका विशेष हुन आवश्यक रहेको उहाँको भनाइ छ । गैरसरकारी सङ्घसंस्थालाई पनि यो विपद्को दःुखद् घडीमा सकेको सहयोग गर्न उहाँको अनुरोध छ ।
बाढी, पहिरोले पारेको क्षति र प्रभावितको अवस्था बुझ्न बाढी, पहिरो प्रभावित क्षेत्र पुग्नुभएकी जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बाढी, पहिरोले सिन्धुलीका सबै पालिका प्रभावित छन् । बाली लगाएको खेतीयोग्य जमिन सखाप भएको छ । सयौँ घरपरिवार विस्तापित छन् । बाढी, पहिरो प्रभावितको यतिबेला विचल्ली भएको छ । खानेपानीको समस्या बढेको छ । यो दःुखद् घडीमा प्रदेश, सङ्घ र स्थानीय तह, गैरसरकारी सङ्घसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।”
विपद्ले विचल्ली बनाएको अवस्थामा पनि सरकार भएको अनुभूति गर्न नसकिएको बाढी, पहिरो प्रभावितको गुनासोसँगै आक्रोश पनि छ । यहाँका स्थानीय सरकार, सुरक्षा निकाय र गैरसरकारी सङ्घसंस्थाले आआफ्नो ठाउँबाट सकेको सहयोग गरिरहेका छन् । यद्यपि, स्रोत साधनको अभाव हुनुका साथै कतिपय सेवा प्रवाह गर्ने निकाय आफैँ बाढी, पहिरोबाट प्रताडित हुँदा नागरिकले आवश्यकताबमोजिमको सहयोग पाउन सकेका छैनन् ।