Mon. Dec 23rd, 2024

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’   

काठमाण्डू, २०८१ असोज ११ गते शुक्रबार ।  गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ ।

किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।

सङ्कलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि सङ्कलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ ।

किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैँचो पसल’ले गरिदिएको छ । आफूअनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन् ।

ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि अझै पनि जीवित नै छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैँचो भनिन्छ । त्यस्तै शैलीमा व्यवसायी धु्रव न्यौपानेलगायतले पैँचो पसलको अवधारणा अगाडि सार्नुभएको हो ।

पाण्डे यो अभियानमा जोडिनुभएको १० वर्ष भयो । गुल्मी छत्रकोटका अगुवा किसानको परिचयसमेत बनाउनुभएका पाण्डे आफँैले पनि वार्षिक रु १० लाख बराबरको तरकारी बिक्री गर्नुहुन्छ । उहाँले १२ रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन् । बजारको कुनै चिन्ता छैन । किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको पैँचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ ।

सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन् । यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि हुनुहुन्छ ।

राससका अनुसार  वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ । उहाँले सात रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । “हामीलाई यसले धेरै फाइदा भएको छ । उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ । बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुपर्यो कि भन्ने कुनै गुनासो छैन”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ । यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र ?”

उहाँको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन् । एक हजार बिरुवा सयपत्रीका छन् । तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहनुभएका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारीमा हुनुहुन्छ । इत्तेहाद एयरलाइन्सको रोजगारी भनेर साउदी अरब पुग्नु भए पनि ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उहाँले सुरु गर्नुभएको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ ।

केन्द्रमा रानाजस्तै ३० जना किसान परिवारले तरकारी उपलब्ध गराउँछन् । गुल्मी सत्यवतीका लोकबहादुर कुँवर पैँचोको अवधारणा राम्रो भए पनि स्थानीय सङ्कलन केन्द्रका मानिसको व्यवहार किसानमैत्री नभएको गुनासो गर्नुहुन्छ । समयमा पैसा नपाएको गुनासो गर्नुहुने कुँवरले पनि तरकारी पैँचोलाई नै बिक्री गर्नुहुन्छ । उहाँको सुझाव छ, “किसानले प्राप्त गरेको पैसा सहज रूपमा पाउने वातावरण बनाइदिएहुन्थ्यो भन्ने लाग्छ ।” घरपरिवारलाई चाहिने दाल, चामल तथा अन्य उपभोग्य वस्तु घरमै आइपुग्ने गरेको बताउनुहुने कुँवर किसानलाई थप राहत दिनेगरी योजना ल्याउन पैँचोका अभियन्तालाई आग्रह गर्नुहुन्छ ।

छत्रकोट–४ रुक्सेका रामकृष्ण कँडेलको बारीमा तीते करेला, घिरौला, लौका, सिमी, कागती फलेका छन् । उहाँ सो गाउँको अगुवा किसानमात्रै नभई सङ्कलन केन्द्रको प्रमुखसमेत हुनुहुन्छ । औसतमा दैनिक सात क्विन्टल बराबरको तरकारी उहाँको सङ्कलन केन्द्रमा जम्मा हुने गरेको छ ।

उहाँ सबै किसानले गाउँघरमै उचित मूल्य पाएको दाबी गर्नुहुन्छ । कँडेललाई सुरुमा पैँचो पसल अवधारणाप्रति विश्वास लागेको थिएन । उहाँले भन्नुभयो, “मलाई सुरुमा यो नहुने कामजस्तो लाग्थ्यो, पछि बुझ्दै जाँदा सहीजस्तो लाग्यो । पछि तरकारीखेती गर्न थालेँ, गाउँमै सङ्कलन केन्द्र पनि स्थापना भयो”, उहाँले भन्नुभयो, “अहिले सङ्कलन केन्द्रको जिम्मेवारी नै लिएको छु । आफ्नो बारीमा फलेका तरकारी पनि ल्याउँछु । अरु किसानको पनि सङ्कलन गर्छु ।”

हरेक दिन तरकारी जोख्ने, हिसाब राख्ने काम गर्ने गरेको जानकारी दिँदै कँडेलले यो अवधारणाले किसानलाई राहत प्रदान गरेको बताउनुभयो । किसानले सबै जानकारी मोबाइलमा नै पाउने भएकाले पनि यो प्रणाली पारदर्शी रहेको उहाँको बुझाइ छ । हरेक तीन महिनामा किसानले आफूले बिक्री गरेको तरकारी र ल्याएको सामानको आफ्नो हिसाब पाउने गरेका छन् । यो सामान्य नियम भए पनि आवश्यक पर्दा किसानले जुनसुकै बेला पैसा पाउँछन् । तरकारी बिक्री गरेको पैसा बचत र किसानलाई राहत होस् भनेर यस्तो अवधारणामा काम गरिएको कँडेलको भनाइ छ ।

“बजारमा एकाध दिन बढी मूल्य पाए पनि किसानले अन्यत्र लैजाँदैनन् । पैँचोले हरेक दिन तरकारीको मूल्य निर्धारण गर्छ । मूल्य निर्धारण गर्ने विधिमा माग र आपूर्तिलाई केन्द्रमा राखेर तथ्याङ्क विश्लेषण गरिन्छ । तय भएको मूल्यका आधारमा किसानलाई उपलब्ध गराइन्छ”, उहाँले भन्नुभयो, “किसानले पैसा नपाएको भन्ने कुनै जायज गुनासो सुन्नुपरेको छैन ।” उहाँ आफैँले पनि सुन्तला, कागतीको नर्सरीसमेत बनाउनुभएको छ । त्यसबाट फलफूल खेतीसमेत विस्तार हुँदै गएको छ ।

गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका किसानले उत्पादन गरेको तरकारी, फलफूल, खाद्य उपज पैँचोको आफ्नै बजारमा पुग्छ । रुपन्देही, मणिग्राममा पैँचो बजार सञ्चालनमा छ । यस्तै गुल्मीको रुरुमा प्रशोधन केन्द्र सञ्चालनमा छ ।

प्रमुख न्यौपानेका अनुसार हरेक दिन १२ बजे अर्को दिनको मूल्य निर्धारण गरिन्छ । “हामीले विशेष प्रकारको सफ्टवेयर सञ्चालनमा ल्याएका छौँ । त्यसबाट किसानले आफ्नो हिसाब मोबाइलमा नै जानकारी पाउँछन् । कृषि प्राविधिक, पशु प्राविधिक उपलब्ध गराएका छौँ । हामीले किसानलाई केन्द्रमा राखेका छौँ । किसान सबल हुँदै जाँदा हाम्रो व्यवसाय आफैँमा विस्तार हुन्छ ।”

किसानका बारीमा सहजै उपलब्ध रुख कटहरमात्र यस वर्ष एक हजार मेट्रिक टन, एक सय टन काँचो आँप आफूहरूले बिक्री गरेको विवरण सुनाउँदै न्यौपानेले दैनिक दुई टन कागती, खेर जाने केराको बुङ्गोले समेत बजार पाएको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा उत्पादन हुने हरेक कृषि उपजको बजार विस्तार गर्ने लक्ष्यका साथ सुरु भएको पैँचो पसलले आर्थिक वर्ष २०८०÷८१ मा मात्र रु ४५ करोड बराबरको कारोबार गरेको छ । चालु आवमा रु ७५ करोड बराबरको कारोबार पुर्याउने लक्ष्य राखेको छ । आगामी आवमा रु एक अर्ब बराबरको कारोबार गर्ने र धेरैभन्दा धेरै किसानलाई जोड्ने योजना अगाडि सारेको प्रमुख न्यौपानेको भनाइ छ ।

सो संस्थाका कारण ग्रामीण क्षेत्रमा महिला सबैभन्दा बढी लाभान्वित भएको जानकारी दिँदै उहाँले चार सयभन्दा बढीले त प्रत्यक्ष रोजगारी नै पाएको सुनाउनुभयो । निकट भविष्यमा साधारण शेयरसमेत बिक्री गरेर धेरैलाई शेयरधनी बनाउने लक्ष्य राखिएको छ ।

हरेक सहरमा बिक्री केन्द्र खोल्ने, गाउँगाउँमा सङ्कलन केन्द्र स्थापना गरेर किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्ने योजना अगाडि सारेको जानकारी दिँदै उहाँले एउटा व्यवस्थित प्रणाली स्थापना गर्न सकिएको खण्डमा देशभित्रको उत्पादनमा नै आत्मनिर्भर बन्न सकिने बताउनुभयो । विषादी राखिएका विदेशी तरकारी विस्थापन हुने, किसान सक्षम हुने, सहज बजार पाउने भएकाले त्यसमा सरकारको पनि सहयोग हुनुपर्ने उहाँको भनाइ छ ।

संस्थाका कारण संयुक्त रूपमा काम गर्नुपर्छ भन्ने भावनाको विकास भएको उहाँको दाबी छ । गुल्मीको पल्लीकोटमा १८ जना महिलाले समूह बनाएर सामूहिक खेती गरेका छन् । त्यसबाट उचित लाभ हासिल गरेका छन् । सरकारले काम गर्ने किसानलाई भन्दा पनि गैरकिसानलाई अनुदान दिएको गुनासो आइरहेको बेला न्यौपाने उत्पादित वस्तु सहज रूपमा बजारमा पुर्याउने वातावरण नबन्दासम्म वास्तविक किसानले राहत नपाउने बताउनुहुन्छ ।

स्वदेशमा नै उत्पादित मकै, चुक, आँपको अचार, पिठो, हरियो सागसब्जी, अमला, निगुरो, केराको बुङ्गोजस्ता कृषि उपज स्वदेशी बजारमा अलावा विदेशी बजारमा समेत बिक्री गर्दै आएको छ । यसबाट विदेशी मुद्रा स्वदेशमा भित्र्याउन पनि सहयोग पुगेको उहाँको भनाइ छ । यस्तै अकबरे खुर्सानी, मरौटी, अमलाले पाएको बजारले असाध्यै खुसी दिएको छ । मरौटी चिकेन त ब्राण्ड नै बनिसकेको छ । पाँचतारे होटलका रूपमा अग्रसर पौवामा मरौटी चिकेनको विशेष ‘मेन्यू’ नै राखिएको छ ।

स्थानीय उद्योगले अकबरे खुर्सानी लिने गरेको छ । अमेरिका, जापान, युरोपका विभिन्न देशका अलावा भारतका विभिन्न सहरमा समेत पैँचो उद्योगबाट उत्पादित सामग्री पुगेका छन् । यस्तै तामा, आँप, सुन्तला, हर्रोबर्रोको पनि उचित बजार विस्तार गरिएको छ । गुल्मीको पल्लीकोटका किसानले मात्रै रु एक करोड बराबरको आँप, सुन्तला, हर्रोबर्रो बिक्री गरेको जानकारी दिँदै उहाँले व्यवस्थित तवरले सात सय ५३ वटै स्थानीय तहमा सङ्कलन केन्द्र स्थापना गर्ने र किसानलाई विश्वास दिलाउने हो भने कृषिबाटै आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

किसानलाई प्रविधिसँग जोडेर कुन मौसममा के खेती गर्ने, पानी, मल बीउको प्रबन्ध कसरी गर्ने, कुन उपजको मूल्य के–कति छ, कुन समयमा टिप्ने भन्ने कुराको जानकारी दिन सकिने उहाँको भनाइ छ । पैँचोले किसानसँग एआईको अवधारणासमेत अगाडि सारेको छ ।

आगामी १० वर्षभित्र १०० वटा कृषि बजार स्थापना गर्ने लक्ष्य अगाडि सारेको पैँचोले ‘किसान कल सेन्टर’ पनि सञ्चालन गर्ने तयारी गरेको छ । टेलिफोनबाटै किसानलाई आवश्यक राय, सल्लाह दिने र बजार विस्तार, विविधिकरणमा ध्यान दिन लागेको उहाँले उल्लेख गर्नुभयो । पँैचोको नारा छ ‘बसे पनि सहर गाउँकै खाने रहर’ । गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैँचो पसल यतिबेला देशभर विस्तारित हुने क्रममा छ । राजधानी काठमाडौँमा समेत पसल सञ्चालनमा ल्याइएको छ । पैँचोका प्रमुख न्यौपानेका अनुसार यो नेपाली ढाँचाको ‘चेन मार्केट’ हो । यसले किसान र उपभोक्तालाई एकापसमा जोड्छ । गाउँको उत्पादन सरल मूल्यमा उपभोक्ताले पाउँछन् । पहाडी र उच्चपहाडी क्षेत्रमा उत्पादन भएका कषि उत्पादनहरूको बजारीकरण गर्ने उद्देश्यले प्रमुख सहरहरूमा पसलसमेत सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

एउटा फरक प्रयोगको रूपमा स्थापित पैँचो पसलले परम्परामा सीमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्द्धनका लक्ष्य लिएको थियो र त्यो अभियान निरन्तर जारी रहेको जनाएको छ ।

प्रमुख न्यौपानेले भन्नुभयो, “हामीसँग अहिले हजारौँ किसान प्रत्यक्ष जोडिनुभएको छ । हजारौँ किसान र उपभोक्ता हाम्रो सेवाबाट लाभान्वित हुनुभएको छ । सिधै किसानसँग जोडिएर कृषिमा आधारित उद्योग सञ्चालन गरिएको पैँचो नै नेपालको पहिलो उद्योग हो भन्ने हाम्रो दाबी छ ।”

बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बिगबिगी छ । तर, पैँचो पसलले पहाड÷उच्चपहाडका किसानले उत्पादन गरेका अग्र्यानिक कृषि उपजलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराएको दाबी गरेको छ ।

यस्तै उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनलाई बजारको पहुँचसम्म पुर्याउने मुख्य उद्देश्य राखिएको छ । विभिन्न स्थानमा पैँचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गरिरहेको छ । यसबाट थप रोजगारीको अवसरसमेत सृजना भएको छ ।

स्थापनाकालदेखि नै हातेप्रविधि प्रयोग गरेर अचार, चुक, दाललगायत खाद्य वस्तुको परीक्षण उत्पादन गरी बिक्री गर्दै आएको पैँचो पसलले अत्याधुनिक प्रशोधन कारखानामार्फत खाद्य वस्तु उत्पादन गर्दै आएको छ । यिनै उत्पादित खाद्य वस्तु मुलुकका विभिन्न सहर र विदेशमा समेत निर्यात हुन थालेको छ ।

सो उद्योगबाट अचार, होल क्यान कर्न, आँटो, कोदोको पिठो, गोलभेँडाको केचअप, जाम, विभिन्न प्रकारका जुस र सिन्की तथा मस्यौरा उत्पादन गरेको छ । यस्तै जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आँटो (च्याँख्ला) जस्ता पहाडी तथा उच्चपहाडी जिल्लाका खाद्यवस्तु प्याकेजिङ गरी बजारमा पठाएको छ ।

त्यस्तै ‘होल क्यान कर्न’ नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैँचोले पहिलोपटक व्यावसायिक उत्पादन गरेको जनाएको छ । बजारमा अनेकौँ ब्राण्डका खाद्य पदार्थ रहेकामा अरुभन्दा फरक रहेको पैँचोको दाबी छ । “फरक यसकारणले छन् कि, हाम्रा सबै उत्पादन निश्चित अल्टिच्युडभन्दा माथिको पहाड र उच्चपहाडी भूभागका कच्चा पदार्थमात्र हामीले प्रयोग गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “पहाडी क्षेत्र र उच्चपहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रमलाई हामीसँग जोडिएका किसानले तोडिदिएका छन् । किसानको सम्पूर्ण उत्पादन बजारीकरणको ग्यारेन्टी हामीले गरेका छौँ । यसैकारण पहाडमा उत्पादन हुने तर त्यसै खेर गइरहेका खाद्यवस्तु नै हाम्रो प्रशोधन केन्द्रका कच्चा पदार्थ हुन् ।”

बेरोजगारीका कारण हरेक वर्ष लाखौँको सङ्ख्यामा विदेशिएका युवालाई स्वरोजगार प्रदान गर्दै विदेशिने बाध्यताबाट रोक्न पैँचो सफल हुँदै गएको दाबी गर्नुहुने न्यौपाने नेपाललाई नारामा कृषि प्रधान देश भनिए पनि उपयुक्त कृषि नीति बन्न नसक्दा वर्षभरि मेहनत गर्ने किसानले प्रतिफल पाउन नसक्दा दुःखमा परेको बताउनुहुन्छ । त्यसलाई रोक्न आफूले सानो प्रयास गरेको र क्रमशः सफल हुँदै गएको उहाँको भनाइ छ ।

किसानको उत्पादन त्यसै सडेर गइरहेको छभने किसानसँग भण्डारण हुँदासम्म मूल्य नपाउने र भण्डार रित्तिएपछि अरु कसैले मूल्य निर्धारण गर्ने परिपाटी रहिआएकामा त्यसलाई पैँचोले तोडिदिएको उहाँको दाबी छ । ग्रामीण भेगमा कृषि पेसा अपनाइरहेका किसानलाई उपयुक्त मल, बीउ तथा कृषि सामग्री उपलब्ध गराई कृषि उत्पादन गर्न अभिप्रेरित गर्ने र उनीहरूको उत्पादनलाई उचित मूल्य दिई पैँचोले बजारीकरण गर्दै आएको दाबी छ ।

सहरिया उपभोक्तालाई पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अग्र्यानिक तरकारी, फलफूल र खाद्य सामग्रीसमेत पैँचो बजारमार्फत उपलब्ध गराउँदै आइएको छ । गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालिकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी सङ्कलन केन्द्र छन् । आगामी दिनमा यो सेवा बागलुङ, पर्वत, स्याङ्जालगायतमा विस्तार गर्ने उद्देश्य छ । पैँचोले विभिन्न प्रयोजनका लागि जेटिए, माटोविज्ञ र पशुविज्ञ यतिबेला पहाडी क्षेत्रमा उत्पादन हुने तरकारी तथा फलफूल र पशुजन्य खाद्य उत्पादन बढाउने सम्बन्धमा किसानका घरघरमा खटाएको छ ।

उत्पादन बढाउने नाममा हाइब्रिड र सुईको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्ने पैँचोको अभियान हो । आफ्नो स्वास्थ्यभन्दा ठूलो कुरा अरु केही हुन सक्दैन भन्ने मूल मान्यता राखेको पैँचोले कृषि अभियानलाई एउटा नयाँ क्रान्तिको नामसमेत दिएको छ ।

सिद्धार्थ हस्पिटालिटीमा एक दशकभन्दा बढी समय बिताएपछि न्यौपानेले अब गाउँमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ लागिपरेको बताउनुभयो । पैँचोको अवधारणा अगाडि बढाउँदा परिवारले समेत राम्रो नमानेको स्मरण गर्दै उहाँले आफूलाई मानसिक रूपमा समस्या परेको बताउनुभयो ।

सिद्धार्थ हस्पिटालिटीजस्तो स्थापित ब्राण्ड छाडेर पैँचोमा आउन सहज थिएन । तर, आज क्रमशः धेरैले राम्रो मानेको उहाँको बुझाइ छ । उहाँ पैँचो अवधारणामा गुल्मीको सत्यवती, छत्रकोटजस्ता स्थानीय तह आत्मनिर्भर भएकामा खुसी हुनुहुन्छ ।

परम्परामा सीमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्द्धनको लक्ष्यका साथ सञ्चालित पैँचो पसलले गुल्मीदरबार गाउँपालिका–३ पुर्खेमा करिब एक सय ५० रोपनी र मुसिकोट नगरपालिका–५ आँपचौरमा करिब तीन सय रोपनी जग्गा भाडामा लिएर एकीकृत कृषि फार्म सञ्चालनमा ल्याएको छ ।

प्रशोधन केन्द्रमा विभिन्न किसिमका जाम, केचअप, अचार, चुक तथा छोप, सोयासस, भिनेगर, आँटो, कोदोको पिठो, फापरको पिठो, सिन्की मस्यौरालगायत ६३ प्रकारका सामान उत्पादन गरी त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुगेको छ ।

आगामी दिनमा एकीकृत रूपमा जग्गाको विकास गर्ने र किसानलाई एकीकृत रूपमा ठूलो क्षेत्रफलमा खेती गर्नका लागि अभिप्रेरित गर्ने लक्ष्य राखिएको छ । ठूलो क्षेत्रमा उत्पादन गर्दा उत्पादन लागत घट्ने र रोगब्याधीको आक्रमण पनि सजिलैसँग निवारण गर्न सकिन्छ । केन्द्रीकृत रूपमा काम गर्दा वन्यजन्तुको समेत समस्या समाधान हुने भएकाले किसानलाई थप फाइदा पुग्न जान्छ ।

तत्कालीन कृषि विकासमन्त्री चक्रपाणि खनालले सो कम्पनीको कामलाई सम्मान गर्दै पुरस्कृतसमेत गर्नुभएको स्मरण गर्दै प्रमुख न्यौपाने सरकार र राज्यका तर्फबाट आफूहरूको कामलाई कुनै न कुनै दिन सम्बोधन हुनेमा विश्वास व्यक्त गर्नुहुन्छ । किसान र उपभोक्तालाई जोड्ने यस प्रकारको अवधारणा अन्य पनि लागू गरिँदा सकारात्मक लाभ हासिल हुने विश्वास गर्न सकिन्छ ।

Facebook Comments