Sun. Sep 22nd, 2024

श्रीलङ्काको राष्ट्रपति चयनका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न   

कोलम्बो, २०८१ असोज ५ गते शनिबार । श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो । मतदानका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । यसका लागि करिब ६३ हजार प्रहरी अधिकारीलाई निर्वाचनको लागि तैनाथ गरिएको थियो ।

राष्ट्रपति चुनावमा एक करोड ७० लाखभन्दा बढी व्यक्ति मतदान गर्न योग्य रहेको र दिउँसो २ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घे, विपक्षी सामागी जना बलवेगाका साजिथ प्रेमदासा र नेसनल पिपुल्स पावरका अनुरा कुमारा दिसानायकेसहित कुल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गरेन भने दोस्रो चरणको मतगणना हुन्छ ।

दोस्रो चरणको मत गणनामा पहिलो चरणको मतदानमा शीर्ष मत पाएका दुई उम्मेदवारमध्ये मतदाताहरूको दोस्रो वा तेस्रो प्राथमिकता सूचीमा रहेका उम्मेदवारको मतगणना गरिन्छ ।

सन् २०१९ को नोभेम्बरमा राष्ट्रपतिको चुनाव जितेका गोटबाया राजपाक्षले सन् २०२२ को जुलाईमा देशमा गम्भीर आर्थिक सङ्कटका बीच भएको आन्दोलनपछि पदबाट राजीनामा दिनुभएको थियो ।

राजपाक्षेको राजीनामापछि संसद्मा भएको निर्वाचनबाट विक्रमासिङ्घे राष्ट्रपति निर्वाचित हुनुभएको थियो । सिन्ह्वा

Facebook Comments