Mon. Dec 23rd, 2024

उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको शिष्टाचार भेट   

काठमाण्डू, २०८१ भदौ ३० गते आइतबार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटघाटमा उहाँहरुबीच नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रमलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको बताउनुभयो । साथै उहाँले मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको उल्लेख गर्दै अगामी वर्षमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले उल्लेख्य सङ्ख्यामा नेपाली नागरिक उच्च शिक्षा तथा रोजगारीको क्षेत्रमा माल्टामा रहेको उल्लेख गर्दै भन्नुभयो, “नेपाल एक भूपरिवेष्ठित मुलुक र माल्टा एक टापु भए पनि हाम्रा दुई राष्ट्रले बहुपक्षीय मञ्चमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गरिरहेका छन् ।”

उपराष्ट्रपति यादवले सन् २०१६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई विकास साझेदाराट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्ने बताउनुभयो । उहाँले द्विपक्षीय र बहुपक्षीय तहमा पारस्परिक लाभका लागि माल्टासँग मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल तत्पर रहेको बताउनुभयो ।

यसैगरी राजदूत गौसीले नेपालसँग माल्टाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफूले ‘नेपाल-माल्टा च्याम्बर अफ कमर्स’ स्थापना गर्न चाहेको बताउनुभयो । उहाँले नेपालको सुन्दरता र आतिथ्यताप्रति खुशी व्यक्त गर्दै माल्टामा १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनुभयो । रासस

Facebook Comments