Sat. Oct 26th, 2024

शेयर बजारमा लगातार गिरावट

काठमाण्डू, २०८१ भदौ २६ गते बुधबार । शेयर बजार आज निरन्तर छैठौँ कारोबार दिन पनि घटेरै बन्द भएको छ । गत साताको बुधबारदेखि घट्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक आज २२.७३ अंक घटेर २६१०.२१ विन्दुमा पुगेको छ । नेप्से निरन्तर ओरालो लागेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा रहेको छ । हिजो ७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ भने समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनएलजी इन्स्योरेन्सको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १.८७ प्रतिशतले घटेको छ । विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

Facebook Comments