Thu. Nov 7th, 2024

नेप्से परिसूचक ओरालो यात्रामा

काठमाण्डू, २०८१ भदौ १३ गते बिहीबार ।  साताको अन्तिम कारोबार दिन आज शेयर बजार र कारोबार रकम दुवै घटेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३६.८३ अंक घटेर २७४९.५७ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।

हिजो १३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएकोमा आज १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज दुई वटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, पिपुल्स हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने रसुवागढी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । थ्रि स्टार हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ३७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अपि पावरको साढे ३६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३५ करोड बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशतले वृद्धि बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतले घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

Facebook Comments