Wed. Oct 23rd, 2024

यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर: मन्त्री दाहाल

- नेपाल पर्यटक यातायात व्यवसायी संघको २१ औं वार्षिक साधारण सभा

रमेश हतुवाली/काठमाण्डू, २०८१ भदौ ७ गते शुक्रबार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न सरकार तत्पर रहेको बताउनु भएको छ ।

देबेन्द्र दाहाल, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

आज काठमाण्डूमा नेपाल पर्यटक यातायात व्यवसायी संघको २१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्नुुुहुँदै मन्त्री दाहालले सो विचार व्यक्त गर्नुभएको हो । बदलिदो परिस्थिती र समयअनुसार नेपालको यातायात नीति परिमार्जन गर्न आवश्यक भएकोले सरकारले छिट्टै यस विषयलाई टुंगियाउने मन्त्री दाहालले जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाले यातायात क्षेत्रमा धेरै समस्याहरु रहेको जानकारी दिनुहुँदै ती समस्याहरुको समाधानका लागि कठोर निर्णय लिने बेला आएको बताउनु भयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका उपाध्यक्ष राम प्रसाद सापकोटाले हरिया नम्वर प्लेट भएका सवारी साधनहरुले मात्र पर्यटकहरुलाई धान्न नसक्ने भएको हुनाले पर्यटन क्षेत्रसँग सम्बन्धित कार्यालय वा संघसंस्थाका नाममा दर्ता भएका राता नम्बर प्लेटका सवारी साधनहरुमा पनि पर्यटक ओसार पसार गर्न पाउनुपर्ने माग गर्नुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले राज्यको राजस्व शंकलनमा होटलपछि सबै भन्दा ठूलो लगानी भएको क्षेत्र पर्यटक यातायात व्यवसाय रहे पनि अस्थिर सरकार, कर्मचारी हेरफेर, कठोर ट्राफिक कारवाही, सवारी पाकिङको अभाव, भारतीय सवारी साधनहरुको नियमित प्रयोग र ट्राफिक प्रहरीको अनावश्यक चेकिङ लगायतका समस्याहरुले यस क्षेत्रलाई गम्भिर असर पुर्याएको बताउनु भयो ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एस.एस.पी जीवन कुमार श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले यातायात क्षेत्रमा विद्यमान रहेका समस्या र चुनौतीहरु हटाउन पुराना ऐन र नीतिहरुमा समयानुसार परिमार्जन गर्दै अघि बढ्नु आवश्यक हुने ठहर गर्नुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपाल भित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको इजाजत लिइ सञ्चालनमा रहेका व्यवसायी कम्पनीको एक मात्र छाता संस्था हो । यस संस्थाले स्थापना कालदेखिनै समग्र पर्यटन क्षेत्र र पर्यटक यातायात व्यवसायीको हितको लागि अविछिन्न रुपमा २२ वर्षदेखि क्रियाशिल रहँदै आएको छ ।

Facebook Comments