Wed. Oct 23rd, 2024

उत्तर कोरियाद्वारा दक्षिण कोरिया र अमेरिकाको सैन्य हेलिकप्टर बिक्री सम्झौताको आलोचना   

 सियोल, २०८१ भदौ ७ गते शुक्रबार । उत्तर कोरियाले शुक्रबार एसियामा अमेरिकी हतियार बिक्रीको आलोचना गर्दै दक्षिण कोरियासँगको अपाचे हेलिकप्टर बिक्री सम्झौतालाई “लापरवाह र उत्तेजक कार्य” भएको बताएको छ ।

“हामी अमेरिकाको हतियार बिक्री सम्झौताको कडा विरोध र अस्वीकार गर्दछौँ”, प्योङयाङका विदेश मन्त्रालयले दक्षिण कोरियालाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ ।

“यो जानाजानी यस क्षेत्रमा सुरक्षा अस्थिरता बढाउने लापरवाह र उत्तेजक कार्य हो”, जापान र वासिङ्टनका अन्य एसिया-प्रशान्त सहयोगीलाई हालैको अमेरिकी बिक्रीको आलोचना गर्दै प्योङयाङले बताएको छ ।

अमेरिकाले दक्षिण कोरियालाई सोमबार ३६ एएच-६४ई अपाचे हेलिकप्टर र मिसाइलसहित सम्बन्धित सैन्य उपकरणहरू तीन अर्ब ५० करोड डलरमा बिक्री गर्ने घोषणा गरेको हो ।

अमेरिकी रक्षा सुरक्षा सहयोग निकाय (डिएससिए) ले यस्ता बिक्रीले दक्षिण कोरियालाई वर्तमान र भविष्यका खतराहरू सामना गर्न, विपक्षीहरूको आक्रमण रोक्न र क्षेत्रीय कारबाहीमा भाग लिन सक्षम बनाउने बताएको छ।

सियोलको एकीकरण मन्त्रालयले शुक्रबार उत्तर कोरियाले “कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतालाई खतरामा पारेको” आरोप लगाएको छ । “प्योङयाङले अन्तर-कोरियाली सम्बन्धलाई ‘दुई शत्रु राष्ट्र’ का रूपमा परिभाषित गरेको छ र निरन्तर अवैध आणविक र मिसाइलहरूको विकास अगाडि बढाइरहेको छ”, मन्त्रालयले भनेको छ ।

दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको गतिविधि नजिकबाट निगरानी र राम्ररी मूल्याङ्कन गरिरहेको मन्त्रालयका उप प्रवक्ता किम इन–एईले पत्रकारहरूलाई बताउनुभयो ।

वासिङ्टन सियोलको प्रमुख सुरक्षा सहयोगी हो र यसले दक्षिण कोरियामा लगभग २८ हजार पाँच सय सैनिक परिचालन गरेको छ ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई नियन्त्रण गर्ने उद्देश्यले नयाँ अभ्यासका साथ प्रमुख वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेको दिन नै हेलिकप्टर बिक्रीको खबर आएको हो । एएफपी

Facebook Comments