Sun. Oct 20th, 2024

तीन हजार विन्दुमा अडिनै मानेन शेयर बजार

काठमाण्डू, २०८१ भदौ ६ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । तीव्र उचारचढाव भएको आजको बजार ३०१८ विन्दुसम्म पुगे पनि अन्ततः ३ हजार विन्दुभन्दा तलै रोकिन बाध्य भएको छ ।

नेप्सेले धेरै दिन ३ हजारको विन्दु पारे गरे पनि आखिरमा यसभन्दा तलै बन्द हुने गरेको छ । नेप्से परिसूचक आज ६.०१ अंकले वृद्धि भई २९७४.४६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । हिजो १८ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएकोमा आज १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ७ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने महालक्ष्मी विकास बैंकको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, अरुण भ्याली हाइड्रोपावरको करिब साढे ४७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४५ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।

विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रासस

Facebook Comments