Sat. Nov 23rd, 2024

भैलद्यको २९ ताहामचा प्रर्दशनसहित गाईजात्रा मनाइयो   

सापारु अर्थात गाईजात्रा पर्वका अवसरमा भक्तपुर दरबार स्क्वायरमा घिन्ताङ्ग घिसी नाच प्रस्तुत गरिँदै । तस्बिरः रमेश गिरी/रासस

भक्तपुर, २०८१ भदौ ४ गते मंगलबार । भक्तपुरको गाईजात्राको विशेष आकर्षणका रुपमा रहेको भैलद्यको ताहामचा अर्थात भैरबको प्रतीकका रुपमा (परालबाट बनाइएको गाईको प्रतीक)को घिन्ताङघिसी नाच प्रर्दशन गर्दै यसवर्षको मुख्य गाईजात्रा सम्पन्न भएको छ ।

यसवर्र्ष भैलद्यको एक परालको तामचासहित अन्य २८ जनाको ताहामचा सहित २९ वटा ताहामचा एकै पटक निकालेर पाँचतले मन्दिर प्राङ्गणलगायत दरबार क्षेत्रमा गोलाकार रुपमा प्रर्दशन गर्दै जात्रा समापन भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

लाकुलाछें (पोटरीक्षेत्र) बाट निकालिने भैलद्यसहितको ताहामचा र घिन्ताङघिसी साँंझ प्रर्दशन गर्दै जात्रा सम्पन्न भएको हो । वर्ष दिनयता दिवङ्गत भएकाको सम्झनामा आज भाद्र शुक्ल प्रतिपदामा मनाइने यो जात्रामा दिवङ्गत भएकाहरुको परिवारका सदस्य वा आफन्तको स्मृतिमा साँस्कृतिक झाँकी, हास्यव्यङ्ग्यसहित जात्रा प्रर्दशन गरिएको छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाचसँगै ताहामचालाई परिक्रमा गराई मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा यसवर्ष युवाहरुको उल्लेख्य सहभागिता रहेको छ ।

ताहामचा चारवटा बाँसबाट बनाइन्छ । करिब १५ फिट लामो चारवटा हरिया बाँसलाई कपडाले बेरेर शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले वेताली बाँधेर बनाइन्छ ।

त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फुलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फुलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिनमाथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ ।

द्योःगाचा अष्टमातृकाको प्रतीक खास्तो राखी छाता ओढाइन्छ । ताहासाको बीचमा जामाचा लगाई लामो दुईवटा पटुका बाँधिन्छ । अगाडि पछाडि भगवान र मृतकको तस्बिरसहित ऐना राखिन्छ ।

भक्तपुरमा कुमालेहरुले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले पुख्र्यौली पेशाअन्तर्गतको माटोबाट गाई बनाएर नगर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिला समेत प्रदर्शन गरिएको छ । साथै केटाकेटीहरुलाई आकर्षक तवरले महादेव-पार्वती, कृष्ण-राधिकाको रुपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गरिएको छ ।

गाईजात्रा निकाल्नु अघि ताहामचा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतीक सङ्केत जनाउने, गाईलगायतलाई सगुन दिन मृतकको छोरीहरु र क्रियापुत्रलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पूरा गरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला सदस्यहरु रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानका रुपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रोलगायत फलफुल र दही चिउरा टोल छरछिमेकमा बाँडिन्छ । बाँसको नोल लगाएर ताहामचालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर नगर परिक्रमा गराइन्छ ।

नगर परिक्रमा गर्दा क्रियापुत्र, छोरीहरु र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयहरुले आफनो गच्छेअनुसार रोटी, फलफुल, विस्कुट, दक्षिण, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो, निलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई नगर परिक्रमा गराईन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । त्यसैगरी गर्भवती महिलाको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एक परिवारमा दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिंङ्ग राखेर मृतकको तस्बिरसहित काखमा राखेर ल्याउने परम्परा छ ।

गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास छ । भैरवको ताहामचा ल्याउँदा लाकोलाछे टोलमा वर्षदिन दिवङ्गत भएका सबैको ताहामचा पनि भैरवको ताहासाँसँग लानुपर्ने चलन छ ।

भैरवनाथको ताहासालाई नगरपरिक्रमा गराउँदा टौमढी, दरबरा क्षेत्र र तचपालमा तीन-तीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहामचा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म मनाइन्छ । प्रतिपदाको दिन मुख्यरुपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म सहरका देवीदेवताहरु दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखंलगायतका नाच प्रदर्शन गर्ने प्रचलन छ ।

गाईजात्रा पर्वलाई काठमाण्डूका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिँह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्राडा श्रेष्ठ बताउँछन् । रमेश गिरी/रासस

Facebook Comments