Thu. Oct 17th, 2024

गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा १२ जनाको मृत्यु   

गाजापट्टी, प्यालेस्टिनी क्षेत्र, २०८१ भदौ ४ गते मंगलबार । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ ।

इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

“हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताउनुभयो ।

गाजापट्टीमा जारी इजरायल-हमास युद्धकाबीच हजारौं विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उहाँले बताउनुभयो ।

इजरायली सेनाले भने हमासले विद्यालयलाई ‘ कमाण्ड-एन्ड-कन्ट्रोल’को रुपमा प्रयोग गरिरहेको र कमाण्ड सेन्टर लक्षित आक्रमण गरेको बताएको छ ।

“हमास लडाकु समुहले इजरायली सेना र इजरायल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टरको रुपमा प्रयोग गरिरहेका थिए”, सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इजरायली सेनाले विद्यालयभित्र सक्रिय रहेका आतङ्ककारीहरूमाथि सटीक आक्रमण गरेको बताएको छ ।

एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरु बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ ।

हालैका हप्ताहरूमा इजरायली सेनाले हमासले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ । एएफपी

Facebook Comments