Fri. Sep 20th, 2024

शेयर बजार ५४.०४ अंकले वृद्धि

काठमाण्डू, २०८१ साउन २ गते बुधबार । नयाँ सरकार गठनपछि बढ्न थालेको शेयर बजार आज पनि बढेरै बन्द भएको छ । अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो फाइनान्सको शेयरमूल्य आज ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको छ ।

आज पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ । तीमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशतले वृद्धि भएको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments