Mon. Sep 23rd, 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको मुद्दा उल्टियो   

इस्लामावाद, पाकिस्तान, २०८१ असार २९ गते शनिबार । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी विवाहको अभियोगमा दोषी ठहर गरिएको मुद्दालाई पाकिस्तानको एक अदालतले शनिबार उल्ट्याएको छ ।

फेब्रुअरीको चुनावअघि नै दोषी ठहर गर्दै खानलाई सत्तामा फर्कन नदिनका लागि मुद्दा चलाइएको उहाँको भनाइ छ ।

ती सबै मुद्दाहरू अब कम्तिमा आंशिक रूपमा भएपनि फिर्ता लिएका छन् । राजद्रोहको अभियोगमा अप्रिलमा एक दशकको जेल सजायलाई उल्टाइएको छ भने जूनमा १४ वर्षको भ्रष्टाचारको सजाय निलम्बित गरिएको छ । यद्यपि, उहाँमाथि लगाइएका कतिपय आरोप अझै पनि कायम छन् ।

पूर्वप्रधानमन्त्री खान र उहाँकी पत्नी बुशरा बीबीलाई इस्लामिक कानुनको उल्लङ्घन गर्दै सम्बन्धविच्छेद भएको केही समयपछि विवाह गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।

तर इस्लामाबाद अतिरिक्त जिल्ला अदालतका न्यायाधीश अफजल माजोकाले शनिबार खान र बीबी दुवैको अपिल स्वीकार गरिएको घोषणा गरेका छन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री खानले सन् २०२३ को मे महिनामा दङ्गा भड्काएको आरोपमा पूर्वी लाहोरको एक अदालतले उहाँलाई पक्राउ गर्न अनुमति दिएको उहाँको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का प्रवक्ता अहमद जान्जुआले बताउनुभएको छ । प्रवक्ता जान्जुआले एक विज्ञप्ति जारी गर्दै थुनामा राख्ने गैरकानुनी आदेशलाई लम्ब्याउने अर्को ‘नौटङ्की’ भएको बताउनुभएको छ ।

यसै महिनाको सुरुमा संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक समितिले खानलाई हिरासतमा लिनुमा कुनै कानुनी आधार नभएको र उहाँलाई राजनीतिक पदका लागि अयोग्य ठह¥याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।

“सुरुदेखि नै त्यो अभियोजन कानुनमा आधारित थिएन र राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको थियो”, जान्जुआद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “करिब एक वर्ष जेलमा बिताएपछि उनलाई तत्काल रिहा गर्न माग गरिएको छ ।”

खानप्रति वफादार उम्मेदवारहरूले राष्ट्रिय चुनावमा सबैभन्दा बढी सिट जितेका थिए, तर सेनाको निकट मानिएका प्रतिद्वन्द्वी दलहरूको गठबन्धनले उनीहरूलाई सरकारबाट बाहिर राखेको थियो ।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो । एएफपी

Facebook Comments