Fri. Sep 20th, 2024

झापा गाउँपालिकामा संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना छिरे

झापा, २०७७ जेठ १० गते शनिबार

झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएकै दिन भारतबाट ८७ जना मानिस भित्रिएका छन् ।

विभिन्न स्थानीय तहमा पठाउने गरी सीमामा अड्किएका उनीहरुलाई नेपाल छिराइएको हो ।

अनलाईन खबरका अनुसार त्यहाँस्थित सशस्त्र प्रहरी बल स्रोतका अनुसार नेपाल प्रवेश गरेकामध्ये १६ जनालाई डिल्लीराज मावि, टाघनडुब्बाको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । यहीँ राखिएका एक जना ३३ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाका अनुसार संक्रमित व्यक्ति झापा गाउँपालिकाकै हुन् । अन्य स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै लगेका छन् र त्यहीँ क्वारेन्टाइनमा राखिएका छन् ।

संक्रमित व्यक्ति ४ जेठमा सीमामा आइपुगेका थिए । बम्बईबाट उनीसहित तीन जनाको टोली सीमामा आएका थिए । त्यहाँबाट उनीहरुलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । तीनै जनाको कोरोना परीक्षण गरिए पनि एक जना मात्र कोरोना पोजेटिभ देखिएको हो ।

हाल क्वारेन्टाइनमा २२ जना व्यक्ति रहेको निरौलाले अनलाइनखबरलाई बताए ।

Facebook Comments