Sun. Sep 22nd, 2024

सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि   

भरतपुर (चितवन),२०८१ असार २९ गते शनिबार । जिल्लाको भरतपुर महानगरपालिका-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिनुभयो ।

“नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ”, प्रहरी नायब उपरीक्षक रिजालले भन्नुभयो । उहाँका अनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल साहले बताउनुभयो । सत्यपालले आज बिहान फेला परेको शव भाई ऋषिपलको रहेको पुष्टि गर्नुभयो । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाण्डूको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढ्नुभएको थियो ।

काठमाण्डूबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

एन्जल वीरगञ्जबाट काठमाण्डूतर्फ र गणपति काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिनुभयो । बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ । रासस

Facebook Comments