Fri. Oct 18th, 2024

नवनिर्मित भवनबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन   

विराटनगर, २०८१ असार २५ गते मंगलबार । यहाँको रानी नाकामा नवनिर्मित भवनबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ ।

विराटगर महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानीमा उक्त भवन निर्माण गरिएको हो । भवनको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज उद्घाटन गर्नुभयो ।

जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रामक रोग भित्रिने जोखिमका कारण नवनिर्मित भवनमा सञ्चालित स्वास्थ्य सहायता कक्षबाट भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरिनेछ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार हरेक प्रमुख नाकामा स्वास्थ्य सहायता कक्षको व्यवस्था गर्नुपर्ने सरकारी नीतिअनुसार महानगरले रानी नाकामा यसअघिदेखि कक्ष सञ्चालनमा ल्याएको थियो ।

भवन नहुँदा टेन्टमार्फत सेवा दिँदै आएकामा आजदेखि भवनबाटै सेवा सुरु गरेको हो । प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवामार्फत सङ्क्रामक रोगको नियन्त्रण र निवारणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

हाल स्वास्थ्य सहायता कक्षमार्फत एचआइभी, क्षयरोग, मलेरिया (औलो), कोभिडलगायतका सङ्क्रामक रोगको परीक्षण गरिँदै आएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीप यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित र एकीकृत रुपमा ती रोगको परीक्षण र प्रारम्भिक उपचारसमेत् सहायता कक्षबाट हुनेछ ।

महानगर प्रमुख कोइरालाले नाकामा सुविधा सम्पन्न भवन नहुँदा विगतमा स्वास्थ्य परीक्षणमा समस्या देखिँदै आएको बताउनुभयो । उहाँले जनशक्तिसहित स्वास्थ्य उपकरण व्यवस्था गरिने र भविष्यमा आउन सक्ने महामारी नियन्त्रणमा नवनिर्मित स्वास्थ्य सहायता कक्षमार्फत सङ्क्रमित व्यक्तिको पहिचान गरी क्वारेन्टाइन तथा अस्पतालमा उपचार गराउन सकिने जानकारी दिनुभयो ।

गत वैशाख १८ गते निर्माण सुरु भएको भवन असार २० गते सम्पन्न भएको हो । महानगरपालिकाको रु २० लाख र सेभ द चिल्ड्रेनको रु १५ लाख ७६ हजार गरी कूल रु ३५ लाख ७६ हजार लागतमा भवन निर्माण गरिएको हो ।

भवन उद्घाटनसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड कार्यक्रमका प्रमुख दीपक पौडेलले आजै भवनको चाँबी प्रमुख कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । रासस

Facebook Comments