Fri. Nov 22nd, 2024

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे छानबिन गर्न संसदीय उपसमिति गठन

काठमाण्डू, २०८१ असार १३ गते बिहीबार । सर्वाधिक चर्चामा रहेर पनि नियमित रुपमा सञ्चालन हुन नसकेका पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे छानबिन गर्न दुईवटा छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दुबै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न दुई उपसमिति गठन गरेको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको हो । ।

दुबै उपसमितिलाई अधिकतम महिना दिन भित्र प्रतिवेदन पेश गर्न समय दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य रहनु भएको छ ।

त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न भट्टराईको संयोजकत्वमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी रहनुृ भएको छ ।

सभापति पोखरेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर कसरी माग प्रस्ताव सुरु भयो भन्नेदेखि गुरुयोजना, लागत र ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन र छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिइएको बताउनु भयो ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको थियो । तर, दुवै विमानस्थलबाट अहिले कुनैपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थल चीन सरकारको २२ अर्ब ऋण ऋण र गौतवबुद्ध एडीबीसहितको ७ अर्ब ऋण र आफ्नै लगानीमा निर्माण भएका विमानस्थल हुन् ।

‘राष्ट्रिय गौरवका आयोजनाका रुपमा यी अन्तर्राष्ट्रिय विमानस्थल बनाइएका थिए तर अहिले दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन,’ सभापति पोखरेलले भन्नुभयो, ‘के यसले देशको मानप्रतिष्ठान, गौरव बढायो त ? उडान नै नहुने आयोजना किन बनाईयो ? आयोजना सुरु हुनु अघि आयोजना सम्पन्न भएर अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेबारे किन विमर्श भएन ? यो पाटोलाई हामीले गहिरो रुपमा अध्ययन गर्नुपर्ने हुन्छ । बजार र चोकमा चिया दोकान खोल्नु अघि त चिया दोकान चल्छ कि चल्दैन भनेर दशपल्ट सोचविचार गरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ भने यी अन्तर्राष्ट्रिय विमानस्थल त राष्ट्रिय गौरव घोषित आयोजना हुन् । के यसले देशको गौरव बढायो त ? अहिले यो विषय बडो पेचिलो बनेको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आब २०७४र७५ बाट सुरु गरी आब २०७७र७८ मा सम्पन्न गर्ने गरी सुरु लागत २२ अर्ब तोकिएकोमा २ वर्ष ढिलो गरी आब २०७९र८० मा आयोजना सम्पन्न गर्ने तालिका तोकिइयो । जसमा २५ अर्ब ३४ करोड रुपैयाँ खर्च लागत देखाइयो । आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्र बाहिर उत्तरतर्फ ४ किलो मटिर पर मणिपाल, सेती नदी र काहुखोलादेखि ५ सय हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक र पृथ्वी राजमार्गको नाला र सिंचाइको नहर बगेर आउने पानी विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भएपनि सञ्चालनमा नआउँदा यसले नोक्सानी मात्रै व्यहोरेको छ । महालेखाले विमानस्थल विभिन्न देश र वायुसेवा कम्पनीसँग समन्वय गरेर सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम विसं २०७१ माघ १ मा सुरु भई २०७४ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो कार्यतालिका संसोधन गरी निर्माण सम्पन्न अवधि २०७८ पुससम्म धकेलिएको थियो ।

२०७९ जेठदेखि विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । तर, अहिले व्यवसायिक उडान ठप्प छ । यो आयोजनामा सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि लागत पनि बढ्यो । बढेको लागत मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । यति ठूलो धनराशी खर्चेर विमानस्थल निर्माण गरिएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । महालेखा परीक्षक कार्यालयले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न वायु सेवा कम्पनी र विभिन्न देशसँग समन्वय गर्न निर्देशन दिएको छ ।

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ‘बुद्धको जन्मथलो लुम्बिनी प्रवेश गर्ने मूलढोकामै रहेको’ तत्कालीन आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गर्नुभएको थियो ।
५ दशकदेखि अन्तर्राष्ट्रिय विमानस्थलको पर्खाइमा रहेका पोखरेली जनताको सपना २०७३ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेपछि साकार भएको थियो ।

दुवै परियोजना भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दी, निर्माण सामग्रीको अभाव, स्थानीयका मागसँग जुध्दै सम्पन्न हुन करीब नौवर्ष लाग्यो । विमानस्थल निर्माण गर्न पोखरामा २५ अर्ब ३४ करोड र भैरहवामा ३५ अर्ब ६६ करोड खर्च भएको छ । तर, यतिठूलो धनराशी खर्चेर बनाइएका दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अहिले शुन्य छ ।

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्नुभएको थियो । १२ सय बिघामा फैलिएको विमानस्थलमा त्यही दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित उडान भरेको थियो ।

यता अन्नपूर्ण हिमशृंखलाको फेदमै ३ हजार ८ सय ९९ रोपनी जग्गामा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । तर, अहिले भैरहवाबाट यतिबेला कुवेतको जजिराले सिधा उडानबाट हात झिकिसकेको छ भने पोखरामा कुनैपनि व्यवसायिक उडान हुन सकेको छैन ।

२०८१ वैशाखसम्म जजिराले भैरहवामा १ सय १० वटा उडान गर्‍यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान मात्रै गरेर पुनः काठमाण्डू फर्किएको थियो । गत वर्ष जेठदेखि सातामा एक दिन ९मंगलबार० नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाण्डू आउने उडान भैरहवा टचडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउँदै आएको छ ।

डेढ वर्षमा पोखरामा दुईतर्फी १४ वटा चार्टर उडान बाहेक कुनैपनि अन्तर्राष्ट्रिय उडान भएन । पोखरामा सिधा उडान गर्न बंगलादेशको वायुसेवा इच्छुक भएको भनिएपनि यसमा अझै सार्थक संवाद अघि बढेको छैन ।

२०७१र७२ मा व्यवस्थापीका संसद् बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा तत्कालीन राष्ट्रपति रामवरण यादवले सरकारको नीति तथा कार्यक्रममा ‘गौतम बुद्ध क्षेत्रीयरअन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्य आरम्भ गर्दै निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने’ उल्लेख गर्नुभएको थियो ।

यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले पनि सरकारका वार्षिक नीत तथा कार्यक्रम सार्वजनिक गर्दै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ‘विशेष प्रोत्साहन प्याकेजको व्यवस्था’ गरिने घोषणा गर्नुभएको थियो । तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल कायमै छ । कान्तिपुर

Facebook Comments