Fri. Sep 20th, 2024

मेक्सिकोको पहिलो महिला राष्ट्रपति -निर्वाचित सेनबामलाई राष्ट्रपति बाइडेनको बधाई   

वासिङ्टन डीसी, २०८१ जेठ २२ गते मंगलबार । अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिनुभएको छ ।
“म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु“, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भन्नुभयो ।
“ हामी दुई देशहरू बिचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र मित्रताको भावनामा राष्ट्रपति–निर्वाचित सेनबामसँग नजिकबाट काम गर्न उत्सुक छौँ। हाम्रा जनताको हितका लागि दुवै राष्ट्रको मूल्य र हितलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछु “, उहाँले भन्नुभयो ।
यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनुभयो । “स्थानीय, राज्य र सङ्घीयस्तरमा बीस हजार भन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु।“ राष्ट्रपति बाइडेनले बताउनुभयो।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मेक्सिकोको अर्को राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएकोमा क्लाउडिया सेनबामलाई बधाई दिनुभयो र दुई देशबीचको साझेदारीलाई बलियो बनाउन सहकार्यका लागि उत्सुकता व्यक्त गर्नुभयो ।
जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँ यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि हुनभएको पोलिटिकोले जनाएको छ।
मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
मतदाताहरूलाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताउनुभयो । सेनबामले भन्नुभयो, “गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु। हामीले पूर्ण रुपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं ।“ एएनआई

Facebook Comments