Sun. Sep 22nd, 2024

ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक, नेपालको क्षेत्रफल ३,३४,२५० वर्ग किलोमिटर

रमेश हतुवाली/काठमाण्डू, २०८१ जेठ २० गते आईतबार । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ३ लाख ३४ हजार २ सय ५० वर्ग किलोमिटर क्षेत्रफल भएको बृहत्तर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

ग्रेटर नेपालको नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल

आज काठमाण्डू अनामनगरस्थित संवाद डबलीमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सो नक्सा सार्वजनिक गर्नुहुँदै गुमेको सम्पूर्ण नेपाली भूमि आफ्नै जीवन कालमा फिर्ता भएको देख्न पाउने विश्वास व्यक्त गर्नुभयो । यस अघि पूर्वमा टिष्टा नदी र पश्चिममा सतलज नदीसम्म फैलिएको २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर क्षेत्रफल अङ्कित भएको बृहत्तर नेपालको नक्सा जारी भएको थियो । आज जारी नयाँ नक्सामा पूर्वमा ब्रम्हपुत्र नदी र पश्चिममा रावी नदी अङ्कित भएको तथ्यसहितको १ लाख २९ हजार ३ सय ३३ वर्ग किलोमिटर थप गरि ३ लाख ३४ हजार २ सय ५० वर्ग किलोमिटर क्षेत्रफल रहेको छ ।

ग्रेटर नेपाल भारत विरोधी अभियान नभई नेपालको राष्ट्रवादी आन्दोलन हो ।

केही महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड भारतको नक्सा जारी गरेपछि आफूहरुले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्नेमा त्यो आँट कसैको नभएको अध्यक्ष नेपालको भनाइ छ । आफूहरुले विगत ६ महिनादेखि लगातारको अध्ययन र खोज गरि तथ्यपूर्ण थप भूमिसहितकोे पाँचौं संस्करणको नयाँ नक्सा सार्वजनिक गरेको अध्यक्ष नेपालले दाबी गर्नुभयो ।

नेपालसँग सुगौली सन्धि गर्ने ब्रिटिस सरकारले इण्डिया छाड्दा नेपाली भूमि स्वत फिर्ता भएको बताउँदै अध्यक्ष नेपालले नेपाली भूमि फिर्ता हुने भनेर प्रस्ट उल्लेख गरेको कानुनी आधार हुँदाहुँदै पनि हाम्रा शासकहरु चुईक्क बोल्न नसकेको बताउनुभयो ।

इण्डिया र ब्रिटिस इतिहासकारहरुले जानाजान नेपाली भूमि अभिलेखिकरण छुटाए पनि यसमा नेपाली इतिहासकारहरु पनि चुकेको अध्यक्ष नेपालको आरोप छ । नेपालसँग सुगौली सन्धिगर्ने ब्रिटिस सरकारले इण्डिया छाड्दा नेपालीभूमि स्वतफिर्ता भएको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, “प्रष्टसँग नेपालीभूमि फिर्ता हुने भनेर उल्लेख गरेको कानुनी आधार हुँदा हुँदै पनि हाम्रा शासकहरु चुइँक्क बोल्दैनन् ।”

अध्यक्ष नेपालले सुगौली सन्धि भएको १ सय २९ वर्षपछि र ब्रिटिसले भारतीय उपमहाद्वीप छाडेर गएको ७५ वर्ष पुगिसक्दा पनि नेपालले आफ्नो भूमि फिर्ताको पहल नगर्नु दुर्भाग्यपूर्ण भएको बताउँदै भन्नुभयो, “भारतले गोवा, चीनले मकाउ र हङकङ फिर्ता लिन सक्छ भने हामीले ब्रम्हपुत्रदेखि रावी नदीसम्मको भूमि किन लिन नसक्ने ?” ग्रेटर नेपाल भारत विरोधी अभियान नभई नेपालको राष्ट्रवादी आन्दोलन भएको उहाँको भनाई छ ।

ग्रेटर नेपालको नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल

कार्यक्रममा काठमाण्डू महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले गुमेको भूमि फिर्ता ल्याउने अभियानमा आफ्नो साथ रहेको र फणिन्द्र नेपालको राष्ट्रवादी छविको प्रशंसक रहेको पनि बताउनु भयो । तण्डुकारले काठमाण्डू महानगरपालिकाका मेयर बालेन साहले जस्तैः हरेक नेपालीले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने हिक्मत गर्नुपर्ने बताउनु भयो । तण्डुकारले गुमेको भूमि फिर्ता ल्याउन ग्रेटर नेपाल अभियानलाई निरन्तर अघि बढाउन आग्रह गर्नुभयो ।

ग्रेटर नेपालको नक्सा सार्वजनिक कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल, काठमाण्डू महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकार र विशाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चेतन ओली लगायतका महानुभावहरु

विशाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चेतन ओलीले ग्रेटर नेपाल अभियानलाई थप प्रभावकारी बनाएर लग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments