Fri. Nov 22nd, 2024

‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक बिमोचन   

पाटन(ललितपुर), २०८१ जेठ ७ गते सोमबार । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित ‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक बिमोचन गरिएको छ ।

८० वर्षीय खड्काद्वारा लिखित उक्त पुस्तकको विमोचन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. राजेन्द्र सुवालले गर्नुभयो । सुवालले स्थानीय विकास प्रतिष्ठानमा अधिकृतदेखि कार्यकारी निर्देशकसम्मको पदमा रहेर कार्यसम्पादन गर्नुभएका अग्रज तथा बौद्धिक व्यक्तित्वबाट लिखित पुस्तकले नयाँ पुस्तामा तालिमसम्बन्धी ज्ञान, सीप र क्षमताको अभिबृद्धिमा महत्त्वपूर्ण सहयोग पुरियाउने  बताउनुभयो ।

“यो किताब अत्यन्तै महत्त्वपूर्ण तथा उपयोगी छ, यसले तालिम व्यवस्थापनका क्षेत्रमा प्रभावकारी भूमिका खेल्नेमा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)का सेवानिवृत बिशिष्ठ कर्मचारी डा दिनेश पन्तले पुस्तकमार्फत नयाँ पुस्तामा ज्ञानको हस्तान्तरण भएको बताउनुभयो । “यो उमेरमा पनि उहाँले आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा प्रकाशनमा ल्याउनु ठूलो कुरा हो । यो तेस्रो कृतिमा समेटिएको अनुभवलाई तालिम सञ्चालनमा उपयोगमा ल्याउन सक्दा ज्यादै उपयोगी हुनेछ”, उहाँले भन्नुभयो ।

वि.सं. २०३२ देखि २०६६ सालसम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सेवामा योगदान गर्नुभएका नयनबहादुर खड्काले अधिकृतदेखि कार्यकारी निर्देशकसम्मको जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्नुभएको थियो । सेवा अवधिमा ७६ जिल्लामा पुगेको बताउनुभएका खड्काले पहिलो पटक सुदूरपश्चिमको विकासको चित्रण र दोस्रो पटक न्यायिक समिति एवम् मेलमिलापकर्ता स्रोत पुस्तिका प्रकाशन गर्नुभएको थियो । यो पुस्तकको प्रकाशन पैरवी प्रकाशनले गरेको हो । रासस

Facebook Comments