Fri. Sep 20th, 2024

मलेसियाले अवैधानिक श्रमिकलाई स्वदेश फर्कन १४ दिनको समय दिने, कुवेतमा झण्डै २६ सय नेपाली स्वदेश फर्कने दिन पर्खंदै

काठमाडौं, २०७७ बैशाक २३ गते मंगलबार

कोरोनाको जोखिमकै बेला कुवेतपछि मलेसिया सरकारले पनि अवैधानिक श्रमिकका लागि आममाफीको समय दिने भएको छ । मलेसियाले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिन लागेको हो । कुवेतमा आममाफीको लागि आवेदन दिने म्याद पनि सकिसकेको छ ।

उज्यालो अनलाईनका अनुसार  कुवेतको आममाफीमा झण्डै २६ सय नेपालीले यात्रा अनुमतिपत्र दूतावासबाट बनेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कुवेतले दिएको आममाफीमा सहभागी हुन दुईवटा विकल्प थियो । पहिलो, पासपोर्ट नहुनेले दूतावासमा गएर यात्रा अनुमति पत्र बनाउने । दोस्रो पासपोर्ट हुनेले कुवेतले तोकेको ठाउँमा सिधै सम्पर्क गर्ने ।

तर राजदूत भण्डारीका अनुसार पासपोर्ट साथैमा भएका नेपालीहरु नगन्य रहेका छन् । ‘यहाँ पासपोर्ट साथमा हुने एकदमै कम नै हुनुहुन्छ,’ राजदूत भण्डारीले भन्नुभयो, ‘कति हुनुहुन्छ भनेर अहिले कुवेतले ठ्याक्कै तथ्याँक दिएको छैन ।’

मलेसियामा जनवरी १ देखि भिसा सकिएकाहरु स्वदेश फर्कन पाउने

मलेसिया सरकारले पनि भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ ।  जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिनुभयो ।

‘जनवरी १ देखि भिसाको म्याद सकिएकाहरुलाई मलेसियाको अध्यागमन विभागमा गएर स्वदेश फर्कन पाउने अवसर छ,’ राजदूत पाण्डेले भन्नुभयो, ‘यसबारे हामीले परराष्ट्रमा जानकारी पठाएको छौं, आजसम्म कुनै प्रतिक्रिया आएको छैन, त्यसैले यसबारे थप भन्न सकिने अवस्था छैन ।’

अवैधानिक रुपमा विदेशमा बस्दा श्रमिकलाई समस्या हुने भएकाले पनि यसरी अवसर पाएका बेला नेपालीलाई स्वदेश फर्काउनुपर्ने राजदूत पाण्डेको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘परराष्ट्रलाई नेपाली फर्कन पाउनुपर्छ र फर्काइनुपर्छ भनेर भनेका छौं, प्रतिक्रिया आएको छैन ।’

कुवेतले आफ्नै खर्चमा पठाउने, मलेसियामा भने श्रमिक आफैंले खर्च गर्नुपर्ने

कुवेत सरकारले आममाफीमा सहभागी हुनेलाई आफ्नै खर्चमा सम्बन्धित देशमा पुर्‍याउनेछ । अप्रिल २६ देखि ३० सम्मको अवधिमा सहभागी भएका नेपालसहित, भारत, बंङ्लादेश, फिलिपिन्सलगायतका देशका नागरिकलाई अहिले कुवेतले आफ्नै खर्चमा राखेको छ ।

फिलिपिन्सले आफ्ना केही नागरिकलाई लगे पनि भारत, बंङ्लादेश लगायतका देशका नागरिक अहिले कुवेत सरकारकै सेल्टरमा स्वदेश फर्कने बाटो कुरिरहेका छन् ।

तर मलेसियाले दिएको अवसरमा सहभागी भएर स्वदेश फर्कनेले भने लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने राजदूत पाण्डेले बताउनुभयो । अघिपछि अवैधानिक श्रमिकलाई धरपकड गरेर पठायो भने अर्कै प्रक्रिया हुन्छ । जेल बस्नुपर्ने हुन्छ । तर यो अवसरको सदुपयोग गरेर फर्कंदा भने फर्कने खर्च आफैंले व्यर्होनु परे पनि अन्य कानुनी झण्झटबाट मुक्त हुने राजदूत पाण्डेको भनाइ छ ।

प्राथमिकताको आधारमा स्वदेश फर्काइन्छ : परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउने बताउनुभएको छ । सोमबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन सरकारले तयारी गरिरहेको बताउनुभएको हो ।

तर पछिल्लो समय कुवेतसँगै मलेसियाले आममाफीको समय दिएर अवैधानिक श्रमिकलाई स्वदेश फर्काउने अवसर दिए पनि यसमा सहभागी भएर फर्कनेलाई ल्याउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

‘आममाफीमा सहभागी हुने, अत्यन्तै समस्यामा पर्नुभएका, गर्भवती, आफन्त गुमाएका लगायतका श्रमिकलाई पहिलो प्राथमिकतामा ल्याउने हो,’ परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, ‘तर यसो गर्दा झण्डै ३० देखि ३५ हजार श्रमिकलाई एकैपटक ल्याउनु चुनौतीपूर्ण छ ।’

आफ्ना नागरिकलाई गन्तव्य देशले आफ्नै खर्चमा जहाजमा पठाउँछौ भन्दा रेस्पोन्स गर्नुपर्ने भए पनि क्वारेण्टीनदेखि, कोरोना परीक्षण लगायतका विभिन्न तयारी आवश्यक भएकाले अहिले चुनौतीपूर्ण रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले उहाँहको पीडा बुझेका छौं, तर उहाँहरुको परिवारका सुरक्षाका लागि पनि यो निर्णय गरिएको हो, तर हामीले अहिले कसरी उद्धार गर्ने भनेर छलफल गरिरहेका छौं, तर अहिले नै कहिले भनेर मिति भने भन्न सक्ने अवस्था छैन ।’

परदेशमा श्रमिकलाई परेको समस्या समाधानका लागि सम्बन्धित देशको पनि दायित्व भएको भन्दै उहाँले त्यसका लागि प्रधानमन्त्रीसँगै आफूले पनि गन्तव्य देशका राष्ट्र प्रमुख र विदेश मन्त्रीसँग कुराकानी गरिरहेको बताउनुभयो ।

Facebook Comments