कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
वालिङ (स्याङ्जा), २०८१ वैशाख २२ गते शनिबार । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले अग्नि प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
उपसभापति गुरुङले आज स्याङ्जाको चापाकोट नगरपालिका–१ का मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारका अवस्था बुझ्नुका साथै आर्थिक सहयोग गर्नुभएको हो ।
आगलागीका कारणघरबारविहीन भएका जनताको घरमा पुगेर पूर्वमन्त्री गुरुङले प्रतिपरिवार रु १० हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो । “घरवारविहीन हुनुभएका नागरिकको अवस्था बुझ्नका लागि घरदैलोमा आएको हुँँ”, उहाँले भन्नुभयो, “जनताको सुख दुःखमा जनप्रतिनिधिसँगै भएको महसुस दिलाउन अग्नि प्रभावित गाउँमा पुगेको हुँ, पहिलो चरणमा मैले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको छु ।”
अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँच घर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गर्नुभएको हो ।
“आफ्ना नागरिकलाई साह्रो गाह्रो पर्दा नै हो जनप्रतिनिधिले सहयोग गर्ने हो”, उहाँले भन्नुभयो, “नागरिकको वास्तविक पीडाका बारेमा उहाँहरुकै घर दैलोमा पुगेर बुझेर आएको छु, अब उहाँहरुको पुनःव्यवस्थापनका विषयमा म गम्भीर छु, अगाडि बढ्छु ।”
चापाकोट–१ मैदानका अग्निपीडित हिमबहादुर सारु मगरले घटना घटाउने मान्छेको पहिचान गरी कारबाहीको माग गर्नुभयो । “हामीले जिताएर पठाएको जनप्रतिनिधि हजुर नै हो, म त बेघर भएँ” मगरले भन्नुभयो, “आगामी दिनमा म जस्तै बेघर अरु कोही पनि नहुन्, त्यसका लागि जो कोही भए पनि खोजी गरी कानुनी दायरामा ल्याउनैपर्छ ।”
आँफू बस्दै आएको घर खरानी हुनुको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै उहाँले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।
सम्पास सामुदायिक वनमा लागेको आगो फैलिँदै आउँदा वनभन्दामाथि रहेका मैदान र बीरडाँडाका पाँच घर तथा गोठ जल्दा पशुचौपाया, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको हो । गत सोमबार मैदानका तीन घर तथा मङ्गलबार बीरडाँडाका दुई घरमा आगलागी हुँदा लाखौँका क्षति भएको थियो ।
मैदानमा गत सोमबार साँझ ५ बजे हिमबहादुर सारु मगर, तेजकुमारी सारु मगर र चन्द्रकुमारी सारु मगरको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । भोलिपल्ट मङ्गलबार दिउँसो २ बजे घरमुनी जङ्गलबाट आएको आगोले बीरडाँडाका सेतीमाया सिँजाली र खमानसिंह सिँजालीको घर गोठ जलेर खरानी भएको थियो । रासस