Sat. Nov 23rd, 2024

सन्त्रासमा बाँचिरहेछन् विश्वका एक अर्ब सुकुम्बासी

काठमाडौं, २०७७ बैशाक ८ गते सोमबार

कोरोना भाइरसको विश्वव्यापी विस्तारमा ती जनसंख्याले प्रमुख भूमिका खेले, जो हवाईजहाज वा क्रुज जहाजमा यात्रा गर्न सक्षम थिए । तर, अहिले यो भाइरसको सबैभन्दा ठूूलो जोखिममा घना सुकुम्बासी बस्तीमा बस्ने ती समुदाय परेका छन्, जो सामाजिक रूपमा अदृश्य र बिर्सिइएका छन् । विश्वभर एक अर्ब मानिस सुकुम्बासी बस्तीमा बसोवास गर्छन् । संयुक्त राष्ट्र संघको परिभाषाअनुसार स्वच्छ पिउने पानी तथा सरसफाइको अभाव रहेको, गुणस्तरहीन घरबार भएका, भिडभाडयुक्त र असुरक्षाको कमी रहेको क्षेत्रलाई सुकुम्बासी बस्ती भनिन्छ ।

सुकुम्बासी बस्तीमा सरुवा रोगले माहामारीको रूप लिने सम्भावना हुन्छ । मुम्बई (भारत)को धारावी, कराची (पाकिस्तान)स्थित ओरन्गी टाउन र मनिला (फिलिपिन्स)को पयाटासमा कोभिड–१९ का बिरामी पहिचान भइसकेको छ । सन् २०१४ र २०१६ बीच पश्चिम अफ्रिकामा देखिएको इबोला महामारी मुख्यतः लाइबेरिया, गिनी तथा सियरा लियोनका घना सहरी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा फैलिएको थियो । महामारीको समयमा सुकुम्बासीहरू इन्फ्लुयन्जा तथा डेंगुको अत्यन्त जोखिममा हुन्छन् । उदाहरणका लागि सन् २०१८ मा दिल्लीमा भएको एक अध्ययनमा बृहत् खोप अभियान र सामाजिक दूरीका बाबजुद सुकुम्बासी बस्तीमा बसोवास गर्नेमा अन्य क्षेत्रका मानिसमा भन्दा ४४ प्रतिशत बढी इन्फ्लुयन्जा हुने सम्भावना हुन्छ ।

संक्रमण दर बढी हुनुपछाडि सुकुम्बासी बस्तीको भिडभाडपूर्ण बसोवास जिम्मेवार हुन्छ । उदाहरणका लागि दिल्लीको सुकुम्बासी बस्तीको जनघनत्व त्यहीको गैर–सुकुम्बासी क्षेत्रको तुलनामा दशदेखि सय गुणासम्म बढी छ । न्युयोर्क सहरमा यो दर तीस गुणा बढी छ । ती स्थानमा बसोवास गर्ने बालबालिकामा कुपोषण र वयस्कमा दीर्घरोग उच्च देखिन्छ, जसका कारण पनि संक्रमणको सम्भावना उच्च रहन्छ । सरसफाइ सेवामाथिको न्यून पहुँच रोग विस्तारका लागि अर्को चुनौती भइदिन्छ । अनि स्वच्छ पानी नहुँदा मानिस टाढासम्म हिँड्डुल गर्ने गर्छन्, जसले गर्दा कोरोना भाइरस विस्तार तीव्र हुन्छ ।

सुकुम्बासी बस्तीका ससाना झुपडी घरमा झ्यालको राम्रो व्यवस्था नहुने र त्यहाँका धेरै घरमा खाना धुवाँयुक्त चुलोमा पाक्ने भएकाले त्यहाँका बासिन्दा पहिले फोक्सोको समस्या लिएर बाँचिरहेका हुन सक्छन् । यस्ता मानिसलाई कोरोना भाइरसले समातेमा अस्वस्थ्यता जटिल रूपमा विकास हुन्छ । तर, यी सबै कारणभन्दा भाइरस विस्तारमा राज्यको बेवास्ताले सबैभन्दा बढी भूमिका खेल्छ । सुकुम्बासी बस्तीमा बसोवास गर्ने सीमान्तकृत जनसंख्या सधैँ सत्तारुढ एलिटको नजरबाट ओझेल पर्दै आएको छ । कोरोना भाइरसको कहरको समयमा त्यहाँ परीक्षणमाथिको एकदमै सीमित पहुँच उपलब्ध हुनु यसैको उदाहरण हो ।

सुकुम्बासी बस्तीमा संक्रमण नियन्त्रणको प्रयासका क्रममा विशेष सावधानी अपनाइनुपर्छ । बस्तीका बासिन्दाका निश्चित आवश्यकतालाई ध्यान नदिई सामाजिक दूरीजस्ता कदम व्यवहारमा उतार्न सकिँदैन । सम्पूर्ण नीति त्यहाँका सामुदायिक संगठनको सहकार्यमा व्यवहारमा उतारिनुपर्छ । ती क्षेत्रमा पकड राख्ने ग्याङलाई पनि छुटाइनुहुँदैन । ब्राजिलका सुकुम्बासी बस्तीमा केही ग्याङ समूहले बस्तीको प्रवेशस्थलमा हात धुने स्टल राखेर प्रकोपविरुद्ध सकारात्मक भूमिका खेलिरहेका छन् । सुकुम्बासी बस्तीमा संक्रमण प्रसार तीव्र हुँदा तिनलाई कम आँक्ने जोखिम हुन्छ । यसले संक्रमणलाई थप वृद्धि गराउनेछ । इन्टेन्सिभ केयर युनिट तथा भेन्टिलेटरजस्ता उन्नत स्वास्थ्य सुविधा सुकुम्बासी बस्तीका बासिन्दालाई उपलब्ध हुने सम्भावना पनि कम हुन्छ ।

त्यसपछि अर्थतन्त्रको प्रश्न पनि आउँछ । कोरोना भाइरस महमारीको नकारात्मक आर्थिक प्रभाव सुकुम्बासी बस्तीका बासिन्दामाथि असमान रूपमा पर्ने गर्छ । सुकुम्बासी बस्तीमा बसोवास गर्ने कामकाजी वर्गको ठूलो हिस्साको अनौपचारिक अर्थतन्त्रमा सहभागी हुन्छ । अहिले लकडाउनले गर्दा तिनले आफ्नो रोजीरोटी गुमाएका छन् । नयाँदिल्ली, केपटाउन, मनिला, कराँची, रियो दे जेनेरियो र नैरोबीका सुकुम्बासी लकडाउनको पीडा महसुस गर्न थालिसकेका छन् । तिनको दैनिक गुजारा अनौपचारिक काममा निर्भर हुने गर्छ ।

यो क्षेत्रमा निर्भर जनसंख्यामा पर्ने असरलाई ख्याल गरेर ब्राजिलको सरकारले अनौपचारिका श्रमिकलाई प्रत्येक तीन महिनाका लागि ११४ डलर अनुदान दिने योजना अघि सारेको छ । दिल्लीका सरकारी निकायले रोजगारदातालाई ज्याला तिर्न र घरधनीलाई आफ्ना श्रमिक ननिकाल्न आह्वान गरेको छ । यति मात्र प्रयास अपर्याप्त छन् । जी–२० ले कोरोना भाइरस महाव्याधिविरुद्ध ५० खर्ब डलरको सहयोगको प्रतिबद्धता जनाएको छ । यो अनुदानले सुकुम्बासी बस्तीका बासिन्दालाई पनि समेटेको छ । भारतले लकडाउनको समयमा विपन्न वर्गलाई तीन महिनासम्म खाना र नगद सहयोग गर्ने वाचा गरेको छ । अरू देशले पनि न्यून आय भएका जनसंख्याका लागि नगदी हस्तान्तरण कार्यक्रम ल्याएका छन् । तिनलाई थप विस्तार गरिनुपर्छ ।

ती बस्तीका बेरोजगार बासिन्दालाई नै कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएको व्यक्तिको खोजी गर्न तालिम दिन सकिन्छ । ब्राजिलको फ्यामिली हेल्थ स्ट्रेटेजी कार्यक्रमले यही नीति अवलम्बन गरेको छ । त्यस कार्यक्रमअन्तर्गत स्थानीयलाई तिनको समुदायको आधारभूत प्राथमिक सेवा र निरोधक सेवाका लागि तालिम दिन्छ । सुकुम्बासी बस्ती विकासोन्मुख देशमा मात्र सीमित छैनन् । उच्च आय भएका मुलुकका सहरमा पनि यस्तो बासोवास रहेका छन् । सियाटल, न्युयोर्क सहर, लस एन्जल्स, ओकल्यान्ड, क्यालिफोर्निया, पेरिस र लन्डनका बेघर शिविर कोभिड–१९ को जोखिममा छन् ।

विश्वका धेरै शरणार्थी क्याम्पपछि संयुक्त राष्ट्र संघको परिभाषाले समेट्ने सुकुम्बासी बस्तीमा रूपान्तरित भएका छन् । बंगलादेश, लेबनान, केन्या र ग्रिसका शरणार्थी क्याम्प कोरोना भाइरसको चपेटामा पर्ने डर बढ्दै गएको छ । अघिल्लो साता, एथेन्सनजिकको एउटा क्याम्पमा भेटिएका २० जना कोभिड–१९ का रोगीलाई खतराको घन्टीको रूपमा हेरिएको छ । विश्वको स्वास्थ्य सेवा प्रणाली तथा सरकारले सुकुम्बासी वस्ती, बेघर शिविर र शरणार्थी क्याम्पलाई बिर्सिन हुँदैन । हामीले महामारीका प्रभावको सामना गर्दा सम्पूर्ण जनसंख्यालाई दिमागमा राख्नुपर्छ । नयाँपत्रिका दैनिकबाट

-ली डब्लु रिले, रोबर्ट स्नाइडर र इभा राफेल महामारीविद् हुन् । 

Facebook Comments