प्रदूषण बढेपछि बैंककमा घरबाट नै काम गर्न आग्रह
बैंकक, २०८० फागुन ३ गते बिहीबार । थाइल्याण्डको राजधानी बैंककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैंकक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ ।
करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्ध-सरकारी, निजी कार्यालय सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन् ।
वायु निगरानी गर्ने वेबसाइट आईक्यूएयरले बिहीबार बिहान बैंककलाई विश्वका १० सबैभन्दा प्रदूषित शहरको सूचीमा राखेको छ ।
आईक्यूएयरका अनुसार सबैभन्दा खतरनाक पीएम २.५ कणको स्तर विश्व स्वास्थ्य संगठनको वार्षिक दिशानिर्देशभन्दा १५ गुणा बढी थियो ।
बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले बुधबार अबेर राति शहरका आफ्ना सबै कर्मचारीले बिहीबार र शुक्रबार घरबाटै काम गर्ने बताउनुभएको छ भने शहरका अन्य सेवा प्रदायी सङ्घसंस्थाहरूलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “वायु प्रदुषणका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यसैले सरकारी कार्यालय र निजी क्षेत्र गरी करिब १५१ कम्पनी र संस्थाहरूको बीएमए नेटवर्कसँग सहयोगको लागि अनुरोध गर्दछु,” उहाँले एक विज्ञप्तिमा भनेका छन् ।”
चाडचार्टका अनुसार बैंककका ५० जिल्लामध्ये कम्तीमा २० जिल्लामा पीएम २.५ कणको अस्वस्थकर स्तर हुने अनुमान गरिएको छ र शान्त मौसमका कारण यो समस्या लम्बिने छ ।
थाइल्याण्डमा शहर वरपरका किसानहरूले वर्षको प्रारम्भिक महिनाहरूमा मल र न्यानोका लागि खेतबारीमा नल पराल जलाउँदा निस्किने धुवाँले औद्योगिक उत्सर्जन र वाहनबाट निस्किने धुवाँमा हावाको गुणस्तर नियमित रूपमा घट्ने गर्छ ।”
राजधानी बैंकक र उत्तरी शहर च्याङ माई गत वर्ष कैयौं दिनसम्म विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेका थिए ।
प्रदूषणका कारण थाइल्याण्डमा सन् २०२३ मा कम्तीमा २० लाख मानिसलाई उपचारको आवश्यकता परेको थियो ।
गत अगस्टमा पदभार ग्रहण गरेको प्रधानमन्त्री श्रेता थाभिसिनको सरकारले वायु प्रदूषणको सामना गर्न ‘राष्ट्रिय एजेन्डा’ बनाउने वाचा गरेको थियो र उहाँको क्याबिनेटले गत महिना स्वच्छ वायु ऐनको मस्यौदा अनुमोदन गरेको थियो ।
तर यो समस्या कायमै छ र गत महिना च्याङ माईको अदालतले सरकारलाई ९० दिनभित्र वायु प्रदूषण नियन्त्रणका लागि तत्काल योजना ल्याउन आदेश दिएको थियो । एएफपी